• img
  • img
img img img
Categories
विजनेश समाचार

दुहवीमा सञ्चालन हुँदैछ सुविधा सम्पन्न ‘फरवार्ड बजार’

img

दुहवी । सुनसरीको दुहवीमा सुविधा सम्पन्न सुपर मार्केट सञ्चालनमा आउने भएको छ । ग्रामिण महिला उत्सुकता विकास मञ्चले दुहवीमै पहिलो पल्ट थ्रिडी सिनेमा सहितको सुपरमार्केट सञ्चालनमा आउन लागेको हो ।

ग्रामिण क्षेत्रमा उत्पादीत बस्तुहरुको बजारीकरण गरी ग्रामिण महिलाहरुको आर्थिक उपार्जनमा सहयोग पुर्याउन फरवार्ड इन्टरप्राइजेज मार्फत सुपर मार्केट सञ्चालन गर्न लागिएको फरवार्ड इन्टरप्राइजेजकी अध्यक्ष भगवती चौधरीले बताइन् ।

‘स्थानीय स्तरमा उत्पादित कृषि जन्य वस्तुहरुको ब्यवसायीकरण गर्दै महिलाहरुलाई आत्मनिर्भर बनाउन र परम्परागत वस्तुहरुको बजारीकरण गर्न यो सपिङ्ग सेन्टर निर्माण गरिएको हो ।’ पूर्वराज्य मन्त्री समेत रहेकी महिला अधिकारवादी नेतृ भगवती चौधरीले बताइन् ।

फरवार्ड बजारको पहिलो र दोस्रो तल्लामा सुपरमार्केट रहने छ । जहाँ उपभोक्ताले स्थानीय स्तरका उत्पादीत वस्तुहरु खरिद गर्न सक्छन् भने, खाद्यान्न, लत्ता कपडा, इलेक्ट्रोनिक्स आइटम, कस्मेटिक्स, कम्प्युटरका आइटम लगायतका वस्तुहरु पाइनेछ ।

यसैगरी तेस्रो र चौथो तल्लामा बैंक, वित्तिय संस्थाका कार्यालय, शाखाहरु, ब्राण्डिङ्ग अफिसहरु रहनेछन् । फरवार्ड बजारको पाँचौ तल्लामा थ्रिडी सहितको अत्याधुनिक सिनेमा हल सञ्चालनमा ल्याउने छ । भने, छैटौं तल्लामा स्थानीय स्तरमा पाइने आदीवासी जनजातिका परम्परागत परिकार समेत पाइने रुफटप रेष्टुरेन्ट रहनेछ ।

‘सुपरमार्केट भन्ने वित्तिकै ब्यवसायीक हिसाबले सञ्चालन गर्ने भन्ने बुझिन्छ, तर हामीले केहि फरक तवरले सञ्चालन गर्दैछौं । हामी स्थानीय स्तरमा उत्पादीत सामग्री र परम्परागत वस्तुलाई प्राथमिकता दिएर अगाडी बढ्छौं ।’ फरवार्ड इन्टरप्राइजेजकी अध्यक्ष चौधरीले भनिन् ।

सुनसरी मोरङ सेरोफेरो मैं फरवार्ड लघुवित्तको ३० औं हजार सदस्यहरु छन् । जसलाई फरवार्ड बजारबाट आधारकार्ड मार्फत सहुलियतमा उपभोग्य बस्तुहरु बिक्री बितरण गरिने योजना बनाईएको छ । यसो गर्दा स्थानीय उपभोक्ताले सर्वसुलभ रेटमा उपभोग्य वस्तुहरु खरिद गर्न सक्छन् ।

फरवार्ड बजारको अर्को उद्देश्य हो, ग्रामिण क्षेत्रलाई सहरीकरण गर्दै आधुनिकिकरण गर्नु । यसका लागि पनि फरवार्ड बजार स्थापना गरीएको हो ।

प्रसस्त पार्किङ्ग सुविधा सहित निर्माण भएको ८ तले सुपरमार्केटले दुहवी, खनार, विराटनगर, इनरुवा क्षेत्रका जनतालाई सेवा दिनेछ ।

सुपरमार्केट सञ्चालनमा आएपछि स्थानीय तहमा युवाहरुलाई ठूलो संख्यामा रोजगारीको सृजना हुने बताइएको छ । अध्यक्ष भगवती चौधरीका अनुसार सुपरमार्केट सञ्चालनमा आएपछि करिब दुई सयले प्रत्यक्ष रोजगारी पाउनेछन् । भने, स्थानीय क्षेत्रका किसानले उत्पादन गरेका वस्तुहरुले राम्रो बजार पाउने छन् ।

सुपर मार्केटको हाल धमाधम फिनिसिङ्गको काम भइरहेको छ । आउँदो पुस महिनाबाट पूर्णरुपमा सञ्चालनमा ल्याइने तयारी भएको छ । दुवहीमा सुविधासम्पन्न सुपरमार्केट नहुँदा स्थानीयहरु इटहरी, विराटनगर तथा सिमावर्ति जोगवनीसम्म दैनिक उपयोग्य वस्तुहरु खरिद गर्न जानुपर्ने बाध्यता छ । फरवार्ड सुपरमार्केट सञ्चालनमा आएपनि टाढाको बजार जानुपर्ने बाध्यता हट्ने छ ।

img

Share: