जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजपाले चाहे मात्र संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश हुने बताएका छन् । साथै उनले असोज २ को चुनाव कुनै हालतमा नसर्ने दाबी गरे ।
जनकपुरमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आसन्न चुनावमा राजपा पनि सहभागी हुने विश्वास व्यक्त गरे । तर, राजपा नआएपनि चुनाव हुने उनले बताए ।
आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन विधेयक पास गराउने प्रयास गरेको तर सम्भव नभएको उनले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘राजपाले चाहे संशोधन निणयार्थ पेश हुन्छ, नभए कुनै अर्थ छैन ।’
मधेस छुट्टै देश हुनुपर्छ भन्ने र पहाडे राष्ट्रवाद दुबै अतिवादी सोच भएको भन्दै उनले आफूहरु त्यसविरुद्ध रहेको बताए ।
माओवादी अध्यक्ष प्रचण्डले जनकपुरलाई महानगर बनाउन पहल गर्ने आश्वासन दिए । साथै मण्डपहरुलाई पुरानै स्वरुपमा फर्काएर पर्यटकीय नगरी बनाउने र स्याटलाइट सिटीका रुपमा विकास गर्ने उनले दाबी गरे ।
उनले जनकपुर विमानस्थलाई स्तरोन्नती गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पहल गर्ने समेत बताएका छन् ।