संपादकीय
आदर्श विवाहको प्रतीक हो ‘विवाह पञ्चमी
मिथिलाको महान पर्व हो विवाह पञ्चमी। विवाह पञ्चमी भन्नाले विवाह बन्धनको प्रेमबाट सुरुवात भएको आदर्श प्रेम कथाको सत्य दृष्टान्त बोक्ने आजको दिन हो। राम सीताको अटुट सम्बन्ध र प्रेमलाई यसले दर्साउने महत्त्वको विषयमा आजको दिनलाई अझ बढी सान्दर्भिक बनाएर लिएको छ मिथलाबासीहरूले। मिथिलावासीहरूले जनकपुरधाममा प्राचिनकालदेखि नै मनाउँदै आएको विवाह पञ्चमी अहिले पनि उत्तिकै रौनकका साथ मनाउने गरिन्छ । जनकपुरमा आजको दिन ठुलै उत्सव लाग्छ; सागरहरू छेउमा आरती गरिन्छ, राम जानकी मन्दिर धूमधामले सजाइन्छ अनि साँझमा आरतीहरू मनमोहक देखिन्छ, मिथिलाकी छोरी सीता र उनका श्रीमान् रामलाई विशेष श्रद्धाका साथ सम्झिने गरिन्छ, उनीहरूको कीर्तिको गुणगान गाइन्छ ।यसै प्रकार सम्पूर्ण स्त्री पुरुष हरूको विवाह सम्बन्ध आजीवन रहोस् भन्ने अनुसरण पनि गर्छन्।
रामायणको कथालाई हेर्ने हो भने त्रेता युगमा आजैको दिन अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्य को राजधानी जनकपुर धाममा राजकुमारी सितालाई विवाह गर्नुभएको तिथि मङ्सिर शुक्ल पञ्चमी अर्थात् आजैको दिन आदर्श जोडी राम सिताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दु संस्कृति अनुसार भएको हो ।
सप्ताहव्यापी रूपमा गरिने विवाह उत्सवमा राम जानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत् रूपमा विवाह पंचमी पर्व सम्पन्न गरिन्छन् ।
प्राचीनकालमा मिथिलाको राजधानी जनकपुर थियो। राजा मेथीको नामबाट मिथिला राज्य पर्न गएको हो। उहाँकै वंशजहरु राज गर्दै जाँदा पछिल्लो कालमा मिथिलाका राजा जनक भएका थिए।
जनकपुरलाई सीताको जन्मस्थल मानिन्छ र सीता मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी हुन् । राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र हुन् । सीता नेपाल भूमिकी पुत्री पनि हुन् । आदर्श पत्नी, आदर्श माता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा आदर्श नारीको उदाहरण हुन् सीता । त्यसैले सीता एवं रामको आदर्श विवाहलाई हिन्दुहरूले अँगालिएका छन्। शिव धनुष अयोध्याका राजकुमार रामले उचाल्ने क्रममा भाँचिएपछि सीता र रामको विवाह धूमधामका साथ जनकपुरमा सम्पन्न भएको थियो । त्यही बेलादेखि विवाह पञ्चमी उत्सव मनाइँदै आएको हो , यो दिन बिहानैदेखि राम जानकी मन्दिर सहित मिथिला क्षेत्रका अन्य मन्दिरहरूमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । उत्सवमा बाजागाजा, झाँकी, भजन कीर्तन र नाचगान गरिन्छ भने जन्ती र डोला हेर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
यही प्राचीन पौराणिक महाविवाहको सम्झना स्वरूप आज पनि नेपालको जनकपुरमा भारत अयोध्या बाट आजको दिन दुरुस्तै जन्त लिएर आउने र राम, सीताको प्रतिमा प्राण प्रतिष्ठान गरेर विवाह गरी सीता बिदा गर्ने चलन छ ।यो युगमा पनि राम सिताको विवाह उत्तिकै महत्त्वपूर्ण छ जति पहिले थियो । आज जानकी मन्दिर परिसरमा व्यापक मेला लागेको छ र जनकपुर वासीहरू त्रेतायूगदेखिको आफूहरूले चलाई आएको चलन र आत्मीयताको निरन्तरता दिइरहेका छन् ।
आजको दिन कसैले विवाह गर्दै हुनुहुन्छ भने साइत देखाउन पर्दैन किनभने आज पौराणिक रूपमा विवाहमैत्री दिन हो । त्यसैले आजको दिन मिथिलामा सैकडौ विवाह हुने होला। यसरी सीता र रामको विवाहको कथा रामायणमा कथा प्रायः सबैलाई थाहै छ । रामसँगै वनवास गएकी सीता एक आर्दश् पत्नी र देवीकारुपमा पुजिने महिला हुन् भने रामलाई आदर्श पुरुष र मर्यादा पुरुषोत्तमका रूपमा चिनिन्छ ।
रामायण र राम चरित्र मानसमा केही न केही भिन्नताहरू पाइन्छ। हुन त रबाइन अनिको भाषा मा अनेको शैली र अन्य अन्य कुराहरुलाई पनि उजागर गर्दै लेखेका छन्। बाल्मिकीले लेखेका रामायण शुद्ध छन् भने तुलसीदास कृत रामचरित्र मानसमा रामका चरित्रलाई बढी उजागर गरिएको छ।
२४००० वटा पंक्तिभएको अनि ५०० वटा अध्याय र सात वटा खण्ड भएको ठुलो खण्डकाव्य रामायण यिनै राम र सीताको जीवनका आरोह अवरोहको कथा हो । संसारका पहिलो रामायण रत्नाकर डाँकु पछि गएर वाल्मीकि ऋषिले लिपिबद्ध गरेको रामायण हुन् जो नेपाल, श्रीलङ्का, थाइल्यान्ड, कम्बोडिया, मलेसिया र ईण्डोनेसियामा पनि एकदमै प्रचलित छ । रामायणका यिनै पङ्क्तिहरूलाई वाल्मीकि ऋषिले रामका पुत्रहरू लव र कुशलाई कण्ठस्थ गराएका थिए ।
इतिहासमा राम सीता अटुट छन् र रहन्छन् ।
नारी पुरुषको महत्त्व, समानता, पारिवारिक दायित्व, राज्य नीतिहरू अनि मर्यादाका पाठहरू सिकाएर रामायणले मानव समुदाय र सभ्यतालाई मर्यादित एवं इमान्दार बनाइएको छ।
सीता र रामको अटुट विवाह झैँ सबैको बिहा होस् , दाम्पत्य जीवन अमर रहोस् भनी न्यूज 1 नेपाल अपेक्षा राख्दछ।