मानव अधिकारको दिवस मनाएर मात्र भएन, मानव अधिकारको उल्लङ्घन हुन नदिन सरोकारवालाले सचेत हुनुपर्दछ
प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप यो दिवस मनाउने गरिन्छ र हिजो अर्थात् मङ्सिर २५ गते (१० डिसेम्बर) का दिन हाम्रो नेपालमा पनि विभिन्न कार्यक्रमहरू गरी यो दिवस मनाइएको छ। सप्तरीमा पनि मानव अधिकारबारे विभिन्न कार्यक्रमहरू एवं चर्चा- परिचर्चाहरु भए। यस्तै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको आयोजनामा लैङ्गिक हिंसा विरुद्ध को १६ दिने अभियान अन्तर्गत कार्यक्रम तथा सडक नाटकहरु पनि गरेको देखियो। तर मानव अधिकारको हकमा वा भनु लैङ्गिक हिंसा विरुद्धको सन्दर्भ मा यी कार्यक्रमहरू कतिको सार्थक भयो त? केही दलगत व्यक्तिहरूलाई आमन्त्रित गरी वा भनु केही आफन्त, इष्टमित्रहरूलाई आमन्त्रित गरी गरिएको तथाकथित जनचेतनामूलक कार्यक्रम गर्नु भनेको राष्ट्रको रकम खर्चिनु मात्र होईन र?
मानव अधिकारको विश्वव्यापी घोषणापत्र ७६ वर्ष पुग्यो
१० डिसेम्बर २०२४ मा विश्वको सबैभन्दा महत्वपूर्ण बिश्वव्यापी घोषणहरु मध्ये एक मानिने मानव अधिकारको विश्वब्यापी घोषणापत्रमा जाति, रंग, धर्म, लिङ्ग, भाषा, राजनीतिक वा अन्य विचार, राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पत्ति, जन्म वा अन्य हैसियतको
परवाह नगरी सबैलाई मानवको रूपमा पाउने अपरिहार्य अधिकारहरू समावेश गर्दछ।तर हाम्रो नेपालमा यी कार्यक्रम गर्नेहरू नै मानव अधिकारको हनन गरिराखेका हुन्छन्। जातिका नारा दिएर पदमा पुग्छन् र अल्पसंख्यक वा अन्य जातिहरूलाई हेप्ने गरेका हुन्छन्। उनीहरूलाई मानव अधिकारबाट वञ्चित गरेका हुन्छन्।
मानव अधिकार खासमा एउटा मानिसको जन्म भए पछि उसले पाउनु पर्ने अधिकारहरु हुन् । सम्मानित जीवनका लागि एउटा मानिसका लागि चाहिने सबै आधारभूत आवश्यकताहरु मानव अधिकारभित्र पर्छन् ।
मानव अधिकार घोषणापत्रका आधारभूत विषयहरु भनेको
‘ मानव अधिकार घोषणापत्रले हामी सबैलाई सशक्तिकरण गर्दछ’
‘मानव अधिकार हरेक मानवका लागि अपरिहार्य छ’
‘समानता, न्याय र स्वतन्त्रताले मात्र द्वन्द्वलाई रोकेर शान्ति स्थापना गर्दछ’ त्यसैले ‘जहाँ जहिले मानवीय मूल्यमाथि आक्रमण हुन्छ, हामी सबै जोखिममा हुन्छौँ’
पछिल्ला वर्षमा पूरै संसारलाई हल्लाउने र त्रसित गर्ने मानव अधिकार उल्लंघनका समाचारहरु प्रशस्तै आए । हाम्रो नेपालमा पनि अनेकौ समाचारहरू मानव अधिकारको उल्लङ्घन को बारेमा आएको देखियो। हाम्रो समाजमा रुढीवादी परम्पराका कारण हुने महिला माथिका हिंसा हुन् या अल्पसंख्यक जातिमाथि बहुसंख्यक जातिको कोठराघात होस् या कमजोर व्यक्तिमाथि बलियो व्यक्तिको प्रहार किन नहुन् ,यी सबै मानव अधिकारका उल्लंघनका घटना हुन् । यस प्रकारको घटनाहरू समाचारमा आउँदा पनि राष्ट्रिय मानव अधिकार आयोग मुखदर्शक हुन्छन्। मानौं हाम्रो मानवता पूर्णरुपमा मरिसकेको छ । देशका कानुन मुठीभर बलियो एवं हुनेहरूको हातमा सीमित भएको जस्तो प्रतीत हुन्छ। मानव अधिकारको संरक्षण हुनु आवश्यक छ। किनभने
मानव अधिकारको पूर्ण सुनिश्चितता विकासको आधार हो, हाम्रो समाज समुन्नत हुने खुड्किलो भएकोले सरोकारवालाले मानव अधिकारको उल्लङ्घन हुन नदिन सधैँ सचेत हुनु आवश्यक छ।