२२ साउन, सप्तरी । तेस्रो चरणको स्थानीय निकायको निर्वाचन आउन एक महिना एक साता बाँकी छ । चुनाव नजिकिँदै जाँदा दलका नेताहरु व्यस्त हुन थालेका छन् ।
आआफ्नो पक्षमा माहौल बनाउन बिभिन्न दलका नेताहरु अगाडि बढिसकेको छ । यो भिडमा नेकपा एमाले पनि आफ्नो तयारीको शुरुअात गरेको छ ।
प्रदेश २ का आठ जिल्लामा असोज २ गते तेस्रो चरणको स्थानीय निकायको निर्वाचन हुनेछ । प्रदेशको पूर्वी दुई जिल्ला सप्तरी र सिरहामा एमालेले बैठक, छलफल अगाडि बढाइसकेको छ । एमालेका नेतृत्व तहले दुई जिल्लामा पार्टीले राम्रो परिणाम ल्याउने बताएका छन् ।
सप्तरी नेतृत्वले त आधा भन्दा बढी स्थानीय तह जित्ने दाबी नै गरेका छन् । ‘हामी ६ नगरपालिका र ४ गाउँपालिका जित्छौं’ एमाले जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने भन्छन्, ‘अन्य स्थानीय तहमा पनि हामी संगठन सुदृढिकरण अभियानमा जुटेका छौं ।’
सप्तरीमा ९ गाउँपालिका र आठ नगरपालिका रहेको छ ।
पहिलो संविधानसभा निर्वाचनमा एमालेले जिल्लाको ६ निर्वाचन क्षेत्रमध्ये कुनैमा जित्न सकेन । २०७० सालको संविधानसभामा क्षेत्र नम्बर ४ मा एमालेले जित हासिल गरेको थियो ।
पछिल्लो समयमा भएका मधेश आन्दोलनका क्रममा खासगरी सिराहा र सप्तरीमा नै एमालेप्रति आक्रोस देखिन्थ्यो । अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिहरुले पनि आक्रोस थप्यो । २३ फागुन २०७३ मा एमालेको मेची महाकाली अभियानको आमसभा मलेठमा गरिँदा पाँच जनाको ज्यान गएको थियो ।
१४ असारमा तोकिएको दोस्रो चरणको निर्वाचनको मिति बढाउँदा एमालेका एक जना उम्म्मेदवारले पार्टी नै परिवर्तन गरेका छन्।
तिरहुत नगरपालिकाको प्रमुख पदका उम्मेदबार दिपु लगरबार नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गरेका छन् । तर, एमाले जिल्ला अध्यक्ष न्यौपाने अहिलेको अवस्था अर्कै रहेको बताउँछन् । उनको भनाइमा जनता एमालेप्रति आकषिर्त भइसकेका छन् । ‘जनताको पक्षमा एमाले नै छन् भन्ने कुरा जनताहरु बुझ्न थालेका छन्’ न्यौपानेको दावी छ, ‘यही कारण हामी १७ स्थानीय तहमध्ये १० वटा जित्छौं ।’
उनी साउनसम्म बैठक, छलफल गरेर भदौ १ बाट प्रचार प्रसार थालिने बताउँछन् । उनी साउनभित्रै संगठन सुदृढिकरण गर्दै समस्या भएका ठाउँहरुमा समाधान गरी पार्टीको अवस्था झनै राम्रो बनाउने योजना रहेको बताउँछन् ।