• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

ओली र प्रचण्ड बीच कसरी सम्भव भयो यो मिलन ?

img

१७ असोज, काठमाडौं । सत्ता सहयात्रा टुटेपछि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड दुई ध्रुवमा उभिए । दुई नेताबीच संसददेखि सडकसम्म जुहारी चल्यो । यो देख्दा लाग्थ्यो, कम्तिमा यो चुनावसम्म्म एमाले र माओवादीको मिलन सम्भव छैन ।

तर, सबै जना दशैंको रमझममा रहेका बेला ‘सरप्राइज’ दिने शैलीमा दुई दलले समझदारी गरेका छन् ।

नेताहरुका अनुसार यो हिजोको आज भएको होइन । यसका लागि लगातार संवादहरु चलिरहेका थिए ।

प्रचण्डले एमाले छाडेर कांग्रेसतिर लागेपछि माधवकुमार नेपाल समूहले लगातार ओलीमाथि प्रश्न उठाउँदै आएको थियो । ओलीले सत्ता हस्तान्तरणको भद्र सहमति तोडेकै कारण प्रचण्ड शेरबहादुर देउवातिर गएको उनीहरुको बुझाइ थियो । ओली समूहकै बामदेव गौतम पनि माओवादीसँग सहयात्रा गर्ने पक्षमै थिए ।

माओवादीमा पनि नारायणकाजी श्रेष्ठसहितका नेताहरु एमालेसँग सहकार्य गर्नुपर्ने लाइनमा थिए । उनले माइतीघर मण्डलास्थित एक निजी घरमा पटक-पटक एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई भेटाएर घण्टौं वार्ता गराएका पनि हुन् । तर, सहमतिमा पुग्नुको साटो तिक्ततामै टुंगिने गरेको थियो ।

तर, पहिलो र दोस्रो चरणको स्थानीय चुनावको परिणामले वामपन्थी ध्रुवीकरणलाई बल पुर्‍यायो । बहुमतको सरकार बनाउने, त्यो हुन नसके पनि पहिलो बन्ने आफ्नो दाबीमा एमाले नेतृत्व स्वयं शंकामा पर्न थाल्यो । र, यदि माओवादीले कांग्रेससँग तालेमल गर्‍यो भने अवस्था खराब हुने विश्लेषण एमालेवृत्तमा हुनथाल्यो ।

एमालेका दोस्रो तहका नेताहरुले माओवादीसामू ६०/४० को भागबण्डामा चुनावी तालमेल गर्ने प्रस्ताव राख्दै आएका थिए, जसलाई दुवै पार्टीका नेतृत्वले पनि स्वीकार गरे ।

माओवादीका लागि यो आकर्षक प्रस्ताव थियो । प्रदेश २ को चुनावका क्रममा कांग्रेसले देखाएको व्यवहारबाट प्रचण्डलाई पनि एमालेसँग नजिक पुग्न सहज बन्यो । कांग्रेसका एक नेता भन्छन्, ‘प्रदेश २ मा चुनावी तालमेल गरौं भन्दा देउवाले जसरी इग्नोर गरे, त्यसले ओलीले लगाएको चोटलाई बिर्सायो ।’

यद्यपि, प्रचण्ड र ओलीबीच अझै पूर्ण विश्वासको वातावरण बनिसकेको थिएन । कतिसम्म भने करिव १० दिनअघि एमाले र माओवादीबीच चुनावी तालमेलको भद्र समझदारी भएको थियो, जुन झण्डै भत्किसकेको थियो ।

एमाले अध्यक्ष ओलीले चुनावी तालमेल तथा पार्टी एकतापछि सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने बचन दिएनन् । त्यसबाट निरास बनेका प्रचण्ड नवमीको दिन कांग्रेस सभापति देउवालाई भेट्न पुगेका थिए ।

तर, देउवाले प्रचण्डको इशारा बुझेनन् वा बुझ्न चाहेनन् । उनले प्रचण्डलाई चितवन ३ मा जिताउनेबाहेक चुनावी तालमेलको कुनै ठोस प्रस्ताव दिएनन् ।

एमाले नेताहरुले त्यसको सुइँको पाए । र, प्रचण्डलाई पार्टी वा सरकारमध्ये एकको नेतृत्व सुम्पिने बचन दिन लगाए । यसले कम्तिमा चुनावी तालेमललाई सम्भव बनाएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी