२१ मंसिर, सुनसरी । उपप्रधानमन्त्री विजय कुमार गच्छदारले यो मतदानले संविधानलाई कहिल्यै नमर्ने गरि जिवित बनाएको भन्दै उपप्रधानमन्त्री बिजय गच्छदारले शहीद जनताको सपना पुरा भएको प्रतिक्रिया दिनुभएको छ । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर २ को तुताहामा रहेको नविन शिक्षा निकेतन मतदान केन्द्रमा उपप्रधानमन्त्री विजय गच्छदारले मध्यान्ह मतदान गरेपछि संचारकर्मीसंग ७० बर्षदेखी जनताले देखेको सपना साकार भएको बताउनुभयो । उहाँले जनताले जनताका लागि निर्माण गरेको संविधानले पूर्णता पाएको र संविधान अधिकार सम्पन्न भएको बताउँदै ७० बर्षदेखि जनताले देखेको सपना पुरा भएको उल्लेख गर्नुभयो । आजको मतदानले शहीदको समेत सपना पुरा गरेको उहाँको भनाई थियो । संविधान पूर्णतया कार्यान्वयन भएको दिन भएकाले आफूलाई अन्त्यन्त गर्व लागेको बताउँदै गच्छदारले आम जनतासंगै यो सपना विपी, गिरिजा र कृष्णप्रसादहरुको पनि सपना थियो जुन आज पुरा भएको बताउनुभयो । मध्यान्हसम्म सुनसरी जिल्लाका १ सय ६६ मतदान स्थलमा रहेका ५ सय २७ मतदान केन्द्रमा ४० प्रतिशत मत खसेको छ । सुनसरी जिल्लामा रहेका ४ निर्वाचन क्षेत्रमा ४ लाख ७४ हजार ८ सय ३१ मतदाता रहेका छन् ।