काठमाडौं : विवेकशील साझा पार्टीले प्रदेश ३ बाट समानुपातिकतर्फ प्रदेशसभामा प्रतिनिधित्व गर्ने तीन सांसदको नाम टुंगो लगाएको छ। विवेकशील साझाको केन्द्रीय समिति बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने समानुपातिक तर्फका तीनजना प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको हो।
विवेकशील साझाका प्रवक्ता डा. सूर्यराज आचार्यका अनुसार रमेश पौडेलको नेतृत्वमा शोभा शाक्य र विराजभक्त श्रेष्ठलाई प्रदेश ३ को प्रदेशसभामा पठाउने निर्णय गरेको हो। प्रदेशसभा सदस्यको नाम टुंगो लागे लगत्तै तीनैजनाको नाम निर्वाचन आयोगमा पठाइएको आचार्यले जानकारी दिए।
विवेकशील साझाले प्रदेश नम्बर ३ का १३ जिल्लामा प्रदेशसभातर्फ समानुपातिकमा एक लाख २४ हजार ४ सय ४२ मत प्राप्त गरेको थियो। यही मतका आधारमा उसले प्रदेशसभामा तीन सिट पाएको हो।