• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

इल उलफित्रको अवसरमा शुभकामना सन्देश जारी :प्रधानमन्त्री ओली

img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको चाड इद उलफित्रले सबै धर्म र संस्कृति अँगाल्ने नेपालीबीच सौहार्दता र राष्ट्रिय एकताको भावना मजबुत पार्ने विश्वास व्यक्त गरेका छन् ।

इल उलफित्रको अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले रमदानको अवसरमा एक महिनाभर भोक तिर्खा बिर्सेर गरिने भक्तिले आदर्श जीवनयापनको माग देखाएको उल्लेख गरेका छन् ।


नेपालको संविधानको प्रस्तावनामै देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा जुनसुकै धर्म र संस्कृति अवलम्बन गर्ने हरेक नेपाली नागरिकको धार्मिक तथा सांस्कृतिक जीवनमा हर्षोल्लासका साथ सहभागी हुने अधिकार संविधानमा सुनिश्चित भएको बताएका छन् ।

‘उत्साहको यही परिवेशमा आर्थिक–सामाजिक रुपान्तरणको ध्येयका साथ सारा देश ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न अग्रसर छ’, सन्देशमा भनिएको छ ।

संविधानले धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहितको धर्मनिरपेक्षतालाई सुनिश्चित गरिसकेको आजको परिप्रेक्ष्यमा नेपालका मुस्लिम समुदायलगायत सबैको धार्मिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूति सन्देशमा उल्लेख छ ।

सन्देशमा प्रधानमन्त्री ओलीले देशमा इस्लाम धर्मावलम्बीको धार्मिक स्वतन्त्रता, हकअधिकारलाई सुव्यवस्थित एवं सुनिश्चित गर्न संवैधानिक व्यवस्थाअनुरुप मुस्लिम आयोग पनि क्रियाशील रहेको स्मरण गराएका छन् ।

img

Share: