• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

मिटरव्याजी पीडितको प्रदर्शन, कडा कार्वाहीको माग

img

सर्लाही । पछिल्लो पटक प्रदेश २ मा मिटरव्याजीको चर्चा अत्यधिक भएको छ । सर्वसाधारण गरीव जनतालाई ऋण दिएर चर्को व्याज असुल्ने क्रम बढेसँगै यसको भण्डाफोर समेत हुन थालेको छ ।

खासगरी प्रदेश २ को सर्लाही जिल्लामा मिटरव्याजीहरुको पोल खुल्न थालेको छ । मिटर व्याजी श्याम परदेशी जेल गएपछि अर्का मिटरव्याजीको पनि पोल खुलेको छ । ती मिटरव्याजी पनि जेल जाने तरखरमा छन् ।

प्रहरी नियन्त्रणमा रहेका सर्लाहीको बरहथवा नगरपालिका १७ सीतापुरका रामबाबु राय पनि जेल जाने तरखरमा पुगेका छन् । रायलाई प्रहरीले शुक्रबार अदालतमा बुझाएको छ । रायविरुद्ध सम्पूर्ण अनुसन्धान सकाएर प्रहरीले सरकारी वकिललाई बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वमणी पोखरेलले रायबिरुद्व सम्पूर्ण अनुसन्धान सकिएको जानकारी दिए । उनले अनुसन्धान सकिएपछि अदालतमा बुझाइएको बताए ।

रामबाबु रायविरुद्ध २८ जना पीडितले २० करोड ४४ लाख रुपैयाँ बराबरको बिगो दावीसहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको थियो ।

रायले धेरै व्यक्तिलाई ऋण दिएर अत्यधिक व्याज लिएको भनिएपनि अधिकांस व्यक्तिले डरकै कारण उनीबिरुद्व उजुरी दिएका छैनन् ।

प्रहरीले रायलाई जिल्ला अदालतमा पेस गरेको भए पनि समय अभावको कारण आइतबारबाट मात्र रायको बहसको शुरु हुने भएको छ ।

अर्का मिटरव्याजी सञ्जय रौनियार भने अझै फरार रहेका छन् । उनको खोजी भइरहेको सर्लाही प्रहरीले जनाएको छ । ऋण वापतको चर्को व्याज तिर्नेहरुले रौनियारविरुद्ध पनि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

यसैबीच मिटरव्याजी रायलाई अनुसन्धान सकाएर प्रहरीले अदालतमा बुझाएपछि मिटरब्याजी पीडितहरूले शुक्रबारै जिल्ला सदरमुकाम मलंगवामा प्रदर्शन गरेका छन् । उनीहरुले प्रदर्शन गर्दै मिटरव्याजीलाई कड कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र समेत पठाएका छन् ।

सर्लाहीको विभिन्न स्थानबाट सदरमुकाम मलंगवामा भेला भएका मिटरव्याजी पीडितहरुले प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाएका हुन् ।

मिटरब्याजी साहुपीडित संघर्ष समितिको अगुवाईमा निकालिएको बिरोध प्रदर्शन मलंगवा बजार परिक्रमा गरेको थियो । ‘मिटरब्याजमा ठगी गरेको आरोपमा पक्राउ परेका रामबाबु रायलाई कडा कारबाही गर, ठगिएका गरिबको जग्गा फिर्ता गर जस्ता नारा उनीहरुले लगाएका थिए ।

मिटरब्याज पीडित रवीन्द्र कुसवाहको नेतृत्वमा प्रदर्शन गरिएको हो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पत्र तत्काल मन्त्रालयमा पठाइदिने प्रतिबद्धता व्यक्त गर्दै यस किसिमको सामन्ति प्रवृत्ति अझै कायम रहनु बिडम्बनापूर्ण रहेको बताए ।

जनकपुर टुडे बाट लिएको समाचार

img

Share:
img

ताजा अपडेट

क्याटोगरी