सप्तरी । बोदेबर्साइन वडा नं. ५ जाजरमा आयोजित मुस्लिम समुदायको तिन दिने धार्मिक महासभा इज्तिमा सोमबार सम्पन्न भएको छ ।
सम्मेलनका मुख्य प्रवर्चनकर्ता भारत दिल्लीस्थित मर्कट जामे मस्जिदका मौलाना मो. हजरत सादले उक्त तिन दिने सम्मेलनमा आपसी सद्भाव र मानव कल्याण कार्यमा जोड दिएका थिए ।
नेपाल तथा भारतका गरी करिब २ लाख ५० हजार भन्दा बढी सहभागी मुस्लिम समुदायद्वारा संयुक्त रुपमा पवित्र नामाज र प्रार्थना प्रश्चात् तिन दिने सम्मेलन सम्पन्न भएको हो ।
यता सम्मेलनमा भाग लिन आएकाहरु आ–आफ्नो गाडी चढेर सोमबार घर फर्कदा जिल्लाको ट्राफिक व्यवस्थामा समस्या भएको छ । हजारौंको संख्यामा सडकमा सवारी साधनको चापका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको तथा घण्टौ सडक अवरुद्घ भएको जिल्ला ट्राफिक कार्यालय शम्भुनाथले जनाएको छ ।
यस्तै अहिले कार्यक्रम स्थल भने दुर्गन्धित भएको छ । तिन दिन सम्म लाखौं व्यक्ति बस्दा दिशापिसाव, खानपिन आदिका कारण उक्त क्षेत्र दुर्गन्धित बन्न पुगेको स्थानियहरुले बताएका छन् ।
आयोजकले महासभाका लागि २ हजार २ सय शौचालय निर्माण गरेपनि सहभागी धेरै भएकाले आसपासका क्षेत्रमा समेत दिसाका थुप्रा देखिएको छ ।
स्थानियबासी, आयोजक र नगरपालिकाका सरसफाईकर्मीको संयुक्त प्रयासमा छिट्टै फोहोर मैलाको व्यवस्थापन गर्ने तयारी गरिएको बोदेबर्साइन नगरपालिकाले जनाएको छ ।
यसअघि मुस्लिम समुदायको धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी हुन आएका दुई सहभागीको मृत्यु भएको थियो ।
भारत मोतिहारी जिल्लाका ७४ वर्षीय हारु रसिदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । हारुनको शनिबार बेलुका ६ बजे निधन भएको थियो । त्यस्तै अर्का एक नेपालीको मृत्यु भएको थियो । उनको पनि आफ्नै कालगतिले निधन भएको प्रहरीले जनाएको छ ।