सप्तरी । प्रदेश २ का ८ वटै जिल्लाको २७ स्थानहरुमा १५ सयभन्दा बढी स्वाब नमुना संकलन गर्ने उद्देश्यसहित टोली परिचालन गरिएको छ । टोलीमा स्वास्थ्य सेवा विभाग, नेपाली सेना लगायतका स्वास्थ्यकर्मी र प्रयोगशालाका प्राविधिकहरुको टोली आजै परिचालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ट्रेसिङ र टेस्टिङ कार्यमा सहजीकरण गर्न भन्दै सरकारले स्थानीय निकायमा खटाउने गरी टोली गठन गरेको छ ।
अहिलेसम्म पीसीआर प्रविधिबाट ९ हजार ४ सय ७ जनाको परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ३८ हजार ८९ परिक्षण गरिएको छ । यससँगै कोरोना भाइरस परीक्षण गरिएको कूल संख्या ४७ हजार ४ सय ९६ पुगेको प्रवक्ता देवकोटाले बताए । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ नयाँ परीक्षण भएको समेत उनले बताए ।
त्यस्तै गरी प्रदेश नम्बर १ मा अहिले सम्म ३ हजार ९ सय २९, प्रदेश २ मा ४ हजार ९ सय ७७, बागमती प्रदेशमा ७ हजार १ सय ४३, गण्डकी प्रदेशमा ४ हजार ७ सय ८३, प्रदेश ५ मा २ हजार ८ सय ७४, कर्णाली प्रदेशमा ४ हजार ८ सय ७० र सूदुरपश्चिम प्रदेशमा ९ हजार ५ सय १३ परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । उनले अहिलेसम्म देशभर १२ हजार ९ सय ८५ जना व्यक्तिरु क्वारेन्टाइनमा रहेको बताए ।
त्यस्तै, काठमाडौं उपत्यकामा ३ र उपत्यकाबाहिर ८६ गरी कुल ८९ जना आइसोलेसनमा रहेको समेत उनले बताए । अहिलेसम्म कूल संक्रमित ४८ जना छन् भने १० जना निको भएर घर फर्किइसकेका छन् ।