विराटनगर । मोरङमा भएको जर्बजस्ती करणी घटनालाई मिलान गर्न खोज्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत भदौ २४ गते अन्दाजी ६ बजे मोरङ धनपालथान गाउँपालिका वडा नं. ५ स्थित प्रतिवादी सुरेश खवासको धान खेतमा मल छर्ने क्रममा एक २१ वर्षीया युवतीमाथि जर्बजस्ती करणी भएको थियो । प्रहरीका अनुसार मोरङको बेलबारी नगरपालिका वडा नं. ८ बस्ने बर्ष ३२ को सुरेश कुमार खवासले पीडित बर्ष २१ की परिवर्तित नाम (सुनवर्षी)लाई एक्लै पारी जवरजस्ती करणी गरेका थिए ।
उक्त कसुरमा गत असोज २५ गते इलाका प्रहरी कार्यालय रंगेलीमा जाहेरी दरखास्त प्राप्त भएको तर प्रतिवादी सुरेश कुमार खवास फरार थिए । उनलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मंसिर १९ गते रंगेली बजारबाट पक्राउ गरेको थियो ।
थप अनुसन्धान गर्दा उक्त घटना गाउँघरमा पीडित पक्षलाई रू. ५ लाख दिई मिलापत्र गराउने भन्ने खुल्न आई मिलापत्र कागज समेत बरामद भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले उक्त मिलापत्र कागज गराउन संलग्न मोरङको धनपालथान गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ६५ को धनेशु खवास, सोही ठाउँको बर्ष ५३ को सुधार सिंह खवास, बर्ष ६२ को मागन खवास, बर्ष ६२ को कलकनु खवास, रंगेली नगरपालिका वडा नं. १ बस्ने बर्ष ६७ को जगत नारायण खवास र बेलबारी नगरपालिका वडा नं. ८ बस्ने बर्ष ५३ को मथालु खवासलाई विहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।