काठमाडौं । अर्थतन्त्रका सूचकमा देखिएको शिथिलता कारण अर्थमन्त्री जनार्दन शर्मामाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले पनि चासो देखाएका छन् । उनले सोमबार बिहान बालुवाटारमा अर्थतन्त्रीलाई समेत राखेर झण्डै २ घण्टा छलफल गरेका छन् ।
छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव मधु मरासिनी, वाणिज्य सचिव गणेशप्रसाद पाण्डेलाई पनि बोलाइएको थियो ।
बैठकको सुरुमै अर्थसचिव मरासिनीले अर्थतन्त्रको अवस्था र अर्थमन्त्रालयले गरेका प्रयासहरुबारे ‘ब्रिफिङ’ गरेका थिए । उनले बाह्य क्षेत्रसँगको सन्तुलनको अवस्थाबारे बताउँदै सरकारले लिएको आर्थिक क्षेत्रको वृद्धिदरको लक्ष्यको प्राप्तिको सम्भावना न्युन रहेको बताएका थिए । सचिव मरासिनीले बेमौसमी वर्षात बाढीका कारण कृषि बालीमा भएको क्षतिले लक्षित दरमा आर्थिक वृद्धि हासिल गर्न कठीन हुने तर्क पेश गरेका थिए । चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ ।
अर्थमन्त्री शर्माले साउनदेखि प्रत्येक महिना निरन्तर भुक्तानी सन्तुलनमा समस्या देखिंदै आए पनि सरकारको विभिन्न नीतिले भुक्तानी सन्तुलनमा ठूलो असर पर्न नदिएको बताए ।