• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय राष्ट्रीय समाचार

कानूनलाई बेवास्ता गरेर देशप्रति बेइमानी

img

काठमाडौं। नेकपा एमालेका नेता डा.भीम रावलले सरकार संविधानमा उल्लेखित कानूनलाई बेवास्ता गरेर देशप्रति बेइमानी गर्न लागिपरेको बताएका छन् ।

नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई तत्काल नागरिकता दिने कुरा नेपालको हितमा नरहेको उल्लेख गर्दै यो संविधानविपरीत भएको बताएका हुन् ।

बुधवार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक देशमा विवाह हुने बित्तिकै कोही पनि विदेशी नागरिकलाई देशको नागरिकता दिने प्रावधान नरहेको र नागरिकता प्राप्तिका लागि केही समय कुर्नुपर्ने स्थिति रहेको भन्दै नेपालले ल्याएको संशोधित नागरिकता विधेयकले देशकै नागरिकलाई अल्पमतमा पार्ने बताए । उनले अनुहारको आधारमा नागरिकता रोक्न खोजेको भन्नेहरु देशलाई विखण्डन गर्ने तत्व भएको पनि बताए ।

उनले भने, ‘हामीले नागरिकताका बारेमा बारम्बार भनेका छौँ । देशभक्त नेपालीले नागरिकता पाउनुपर्छ । तर विवाह गरेर आउनेबित्तिकै नागरिकता दिने भन्ने कुरा छ, त्यो हुनु हुँदैन । नागरिकताको बारेमा संविधानमा उल्लेखित गर्दा दिएको वचनबाट पछि हट्नु भनेको देशप्रतिको बेइमानी हो । संसारमा कुनै पनि देशले नागरिकतालाई खुकुलो बनाउँदैन । तर नेपाल यति धेरै ठूलो जनसंख्या भएका देशका बीचमा बसेर खुकुलो बनाइरहेको छ ।’

नेता रावलले नेपालले आफ्ना सीमानामा नियमन गर्न आवश्यक रहेको बताए । उनले नेपालीहरुले अन्तर्राष्ट्रिय कानूनअनुसार भारतसँग सुमधुर सम्बन्ध कायम राख्न सीमाको व्यवस्थापन गर्न जरुरी रहेको बताए ।

नेता रावलले सुस्ता, कालापानी, सन्दुकपुर लगायतका देशका ७७ ठाउँमा सीमा अतिक्रमणमा परेको भन्दै बहुमतको बलियो सरकारले सीमा समस्याको समाधानका लागि भारतसँग छलफल गर्न आवश्यक रहेको बताए । उनले सीमा रक्षाको कुरामा गठबन्धन सरकार संवेदनशील नरहेको आरोप लगाए । कालापानीमा विदेशी फौज आएर बुलडोजर चलाउँदा समेत सरकार मौन रहेको बताए ।

‘नेपालमात्रै यस्तो देश हो, जसले संसारका सबैभन्दा ठूला र सबैभन्दा बढी जनसंख्या भएको देशको बीचमा रहेर न सन्धीबाट तय भएको, न कुनै कानूनबाट तय भएको कुनबेलाको कुन शासकको सनकको भरमा हाम्रो सीमानालाई अन्तर्राष्ट्रिय कानून बमोजिम नियमन गरिएको छैन ।’ उनले भने, ‘हामीले नियमन गर्ने कुरा भारतप्रति द्वेष राखेको होइन । जसरी भारतले बंगलादेश सँगको सीमानालाई काँडेतार लगाएको छ, हामी नेपालीहरुले अन्तर्राष्ट्रिय कानूनअनुसार भारतसँग सुमधुर सम्बन्ध कायम राख्न सीमाको व्यवस्थापन गर्न जरुरी छ ।’

img

Share: