• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

आज गंगाआरतीको ९ औं वार्षिकोत्सव मनाउने

img

जनकपुर। जनकपुरधामको ऐतिहासिक तथा धार्मिक पोखरी गंगासागरको सरसफाइ अभियानबाट शुरु भएको गंगा आरतीको मंगलबार ८ वर्ष पूरा गरी ९औं वर्षमा प्रवेश गर्न लागेको छ । आरतीको ८ वर्ष पूरा भइ ९ औ वर्षको प्रवेशको अवसरमा सेभ हिस्टोरिकल जनकपुरधामले विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताको साथ मनाउने भएको छ ।

सो अवसरमा आइतबार गंगासागरको पोखरीको डिलमा वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको थियो भने मंगलबार बिहान सामूहिक गंगास्नानको कार्यक्रम रहेको छ ।

त्यस्तै,मंगलबार साँझ भव्य रुपमा महागंगाआरतीको आयोजना गरिने बताइएको छ । सो क्रममा नियमति आरती गायन बाहेक कलाकारहरुको टोलीले सांस्कृतिक भजन सन्ध्याको समेत आयोजना हुने आयोजकले जनाएको छ ।

‘सेभ हिस्टोरिकल’ जनकपुरधामको सक्रियतामा शुरु भएको गंगा आरती हाल आएर आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । दिनहुँ आरती हेर्ने भक्तजनहरुको भीड लाग्ने गरेको छ भने नेपालमै पहिलो पटक शुरु गरिएको गंगा आरती हेर्न प्रत्येक दिन यहाँ पर्यटकको घुइँचो नै लाग्ने गरेको छ ।

जनकपुरधाममा शुरु भएको गंगा आरतीपछि, वीरगञ्ज, पोखराको फेवातालका साथै सिरहा, महोत्तरीको जलेश्वर,देवघाट लगायतका देशको विभिन्न स्थानमा आरती हुन थालेको छ ।

आरतीमा सहभागी हुन आन्तरिक पर्यटकका अलावा छिमेकी भारत तथा तेश्रो मुलुकबाट समेत पर्यटकहरु आउने गरेको सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष एवं प्रदेशसभा सांसद रामअशिष यादवले बताए ।

जलको संरक्षण र प्रकृतिको पूजा गर्ने उद्देश्यले गंगाआरतीको प्रारम्भ गरिएको बताउँदै सांसद यादव भन्छन्,‘पोखरी नै पोखरीले भरेको जनकपुरधाममा पोखरीको संरक्षण सम्बद्र्धन बिना पर्यटकीय विकास सम्भव छैन त्यसैले दर्शनीय स्थलको रुपमा पोखरीको विकास गर्ने उद्देश्यसमेत रहेको छ।’

झन्डै दुई घण्टाको संगीतमय आरतीको अन्त्यमा प्रसाद बाँडिन्छ ।भक्तहरूले चढाएको भेटी र दानबाट नै विगत ८ वर्षदेखि आरतीले निरन्तरता पाइरहेको छ।

img

Share: