न्युज 1नेपाल
जेठ १६ गते, काठमाडौं । नेकपा एमालेका भात्री संगठन अनेरास्ववियुको हुने २४औं महाधिवशेन बा ३२ वर्ष हद उमेर लागू गर्ने भएको छ ।
महासचिव शंकर पोखरेलले अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ललाई परिपत्र गर्दै यही २५ जेठदेखि हुने महाधिवेशनमा नै उमेर हद ३२ वर्ष लागू गर्न परिपत्र दिएका हुन् ।
मल्लले महासचिव पोखरेलको परिपत्र शुक्रबार प्राप्त सकेकाले आसन्न महाधिवशेनबाट उमेर हद लागू गर्ने जानकारी दिए । एमालेको यही ११ जेठमा बसेको सचिवालय बैठकले अनेरास्ववियुमा उमेर हद तोक्ने निर्णय गरेका थियो ।
परिपत्रमा भनिएको छ, ‘३२ वर्ष उमेर नकटेका प्रतिनिधिहरू मात्र विधानको व्यवस्थाअनुरुप पदाधिकारी तथा सदस्यका उम्मेदवार हुन पाउने वैधानिक व्यवस्था मिलाउने, यसरी निर्वाचित भएका पदाधिकारी र सदस्यहरू अर्को महाधिवेशन नभएसम्म पदमा कायम रहन सक्नेछन् ।’
परिपत्रमा ३२ वर्षे उमेर हदसम्बन्धी व्यवस्था संगठनका सबै तहका कमिटीमा लागू हुनेगरी विधानमा आवश्यक व्यवस्था मिलाउनसमेत भनिएको छ । यस अघि सम्पन्न भएको युवा सङ्घले पनि उमेर हद ३२ वर्ष पारित गरिसकेको छ।