न्युज 1नेपाल
असार ०३ गते,काठमाडौँ — यातायात व्यवस्था कार्यालय पर्साका तत्कालीन अधिकृत कमलराज गौतमविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोग लगाएर भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गौतम विरुद्ध सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ बिगो कायम गरी मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार प्रतिवादी गौतमविरुद्ध बिगो बमोजिम जरिवाना, कैद सजाय र स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबी गरिएको छ ।
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) गौतमले पदमा रहँदा चालक अनुमति पत्रमा अनियमितता गरेको आरोपमा अख्तियारमा उजुरी परेको थियो । त्यसपछि अख्तियारले गौतम सार्वजनिक ओहोदामा रहेयताको सम्पत्ति छानबिनको दायरामा ल्याएको थियो । विशेष अदालतमा दायर अभियोगपत्रअनुसार गौतमको २०५५ वैशाख ७ देखि २०७९ चैत २४ सम्मको चलअचल सम्पत्तिमाथि अनुसन्धान गर्दा स्रोत नखुलेको जायजेथा भेटिएपछि त्यसलाई नै बिगो कायम गरी मुद्दा दायर गरिएको हो । जाँच अवधिमा निजको पारिश्रमिक बचत रकम, बैठक भत्ता तथा पर्यटन काजको बचत रकम, श्रीमती सरला नेपालको पारिश्रमिक बचत र भ्रमण भत्ता बचत रकम, घर/जग्गा बिक्री आय, सञ्चय कोष, बैंकहरू तथा जनक शिक्षा सामग्रीबाट ऋण/सापटी लिएको रकम, शेयर बिक्रीबाट प्राप्त रकम, सवारी साधन बिक्री आय, बीमा परिपक्क/समर्पण आय, कृषि आय, घर भाडा आय र बैंक ब्याज आय गरी कूल २ करोड ८९ लाख २० हजार २ सय ६८ रुपैयाँको मात्र वैध आय स्रोत खुलेको देखिएको आयोगले जनाएको छ ।
‘उक्त अवधिमा निजको एकासगोल घरपरिवारको नाममा घर निर्माण, घर/जग्गा खरिद, घर/जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन खरिद, बीमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, सञ्चय कोष/बैंक/जनक शिक्षा सामग्रीमा ऋण तिरेको रकम, शेयर खरिद रकम, बैंकमार्फत खर्च लगानी, सुन खरिद र बैंक मौज्दात गरी ५ करोड ४० लाख ९८ हजार ९५५ रुपैयाँ बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिँदा कूल आयबाट खर्च तथा लगानी घटाउँदा २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ ऋणात्मक हुन गई स्रोत पुष्टि हुन नसकेको हुँदा निजलेगैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको आयो,’ अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा भनिएको छ ।