न्युज 1नेपाल सम्वाददाता
पौष १४,भारदह
प्रेस चौतारी नेपाल सप्तरी शाखाका अध्यक्ष डम्बर राईलाई नेपाल पत्रकार महासंघ सप्तरी शाखाको कार्यवाहक सचिव (कावा सचिव) का रूपमा पठाउने निर्णय गरिएको छ।
हनुमाननगर कंकालिनी नगरपालिकाको भारदह स्थित रोयल सेकेन्डरी स्कुलको सभाहलमा सोमबार बसेको प्रेस चौतारी नेपाल सप्तरी शाखाको विधिवत बैठकले सर्वसम्मत बाट सो निर्णय गरेको हो।
नेपाल पत्रकार महासंघ सप्तरी शाखामा सचिव पद रिक्त भएपछि महासंघले प्रेस चौतारी नेपाललाई कार्यवाहक सचिव पठाउन औपचारिक रूपमा आव्हान गरेको थियो। महासंघका सचिव पदमा रहेका खगेन्द्र कार्कीले राजीनामा दिएपछि उक्त पद खाली भएको हो। सोही सन्दर्भमा महासंघको विधान र संगठनात्मक प्रक्रियाअनुसार कार्यवाहक सचिव नियुक्तिका लागि चौतारीलाई जिम्मेवारी आएको प्रेस चौतारी नेपाल सप्तरीले जनाएको छ।
प्रेस चौतारी नेपाल सप्तरीका उपाध्यक्ष शिव आचार्यका अनुसार महासंघको नियमावलीअनुसार सचिव पद रिक्त भएमा सह–सचिवले सचिवको जिम्मेवारी सम्हाल्नुपर्ने व्यवस्था छ। तर महासंघ सप्तरीमा रहेका दुईजना सह–सचिव दुवै प्रेस चौतारी नेपालकै संगठनबाट प्रतिनिधित्व गर्ने भएकाले संगठनभित्र आन्तरिक छलफल र सहमतिपछि अध्यक्ष डम्बर राईलाई कार्यवाहक सचिवका रूपमा पठाउने निर्णय गरिएको हो।
बैठकमा उपस्थित सदस्यहरूले अध्यक्ष राईको पत्रकारिता क्षेत्रमा रहेको अनुभव, संगठनप्रतिको प्रतिबद्धता तथा नेतृत्व क्षमतालाई ध्यानमा राख्दै उनलाई कार्यवाहक सचिवको जिम्मेवारी दिन उपयुक्त ठहर गरेका थिए। चौतारीका केन्द्रीय सदस्य खगेन्द्र कार्कीको राजीनामापछि महासंघको कामकारबाहीलाई निरन्तरता दिन र संगठनात्मक गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न अध्यक्ष राईको भूमिका महत्वपूर्ण हुने बैठकले निष्कर्ष निकालेको छ।
प्रेस चौतारी नेपाल सप्तरी शाखाले महासंघसँग समन्वय गर्दै जिल्लामा पत्रकारहरूको हकहित, पेशागत सुरक्षा, स्वतन्त्र र जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा सक्रिय भूमिका खेल्दै आएको छ। अध्यक्ष राईलाई महासंघको कार्यवाहक सचिवमा पठाउने निर्णयले महासंघ र चौतारीबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
बैठकमा चौतारीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। उनीहरूले महासंघ सप्तरी शाखाको संस्थागत सुदृढीकरण र पत्रकारिताको मर्यादा कायम राख्न संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।