न्युज1नेपाल सम्वादाता
कञ्चनरूप
सप्तरी — नेकपा (एमाले) सप्तरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। शुक्रबार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा सम्पन्न क्षेत्रीय भेलाले उम्मेदवारको नाम प्रस्ताव गर्दै छनोट प्रक्रिया सुरु गरेको हो।
निर्वाचन क्षेत्र नम्बर १ मा पूर्व पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेलको नाम सर्वसम्मत रूपमा प्रस्ताव गरिएको छ। यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ मा ताराकान्त चौधरी सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस हुनुभएको छ।
निर्वाचन क्षेत्र नम्बर २ मा भने देवनाथ यादव, पंचुदेव खंग र राजाराम यादव गरी तीन जनाको नाम प्रस्ताव भएको छ। यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ मा गंगा चौधरी र बालकिशोर चौधरीको नाम सिफारिस गरिएको छ।
जिल्ला सचिव देवनाथ यादवका अनुसार निर्वाचन क्षेत्र नम्बर २ र ४ का उम्मेदवार टुंगो लगाउने जिम्मा क्षेत्रीय कमिटीलाई दिइएको छ। क्षेत्रीय कमिटीले आइतबारसम्म छलफल गरी अन्तिम निर्णय गर्ने जानकारी उहाँले दिनुभयो।
पार्टीले स्थानीय कार्यकर्ताको सुझाव, संगठनात्मक अवस्था र उम्मेदवारको योगदानका आधारमा नाम सिफारिस गरिएको जनाएको छ। अन्तिम उम्मेदवारको निर्णय भने पार्टीको केन्द्रीय कमिटीबाट हुने एमालेले स्पष्ट पारेको छ।