• img
  • img
img img img
Categories
स्वास्थ्य

काठमाडौंमा कडा खालको स्वाइन फ्लु, दुईको मृत्यु

img

काठमाडौं–  केही दिनयता काठमाडौंमा कडा खालको स्वाइन फ्लुको संक्रमण बढेको पाइएको छ । स्वाइन फ्लुको संक्रमणबाट बिरामी परेका केहीको उपचार भइरहेको र  तीमध्ये दुई जनाको ज्यान नै गइसकेको छ ।

शिक्षण अस्पताल महाराजगञ्जका आइसियू विभाग प्रमुख डा. सुवास आचार्यका अनुसार फ्लुको संक्रमणबाट शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भइसकेको छ। संक्रमणपछि ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचारका लागि आएका उनीहरुको थप उपचारका लागि शिक्षण अस्पताल पुर्‍याइएको थियो। उनीहरुको उपचारकै क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो।

शिक्षण अस्पतालमा भाइरल निमोनियाका अन्य दुई जना बिरामी आइसियूमा उपचाररत रहेको डा. आचार्यले बताए । ‘भाइरल निमोनियाका कारण अस्पताल आएका बिरामीको ल्याब परीक्षण गर्दा स्वाइन फ्लु देखिने गरेको छ’, उनले भने ।

ग्रान्डी अस्पतालमा मात्रै अहिले स्वाइन फ्लुका चार जना बिरामीको आइसियूमा उपचार भइरहेको बताउँदै उनले भने, ‘फ्लुका बिरामीका कारण राजधानीका विभिन्न अस्पतालका आइसियूमा बिरामी बढ्ने क्रममा छन्।’ उनका अनुसार बिरामीमा कडा खालको फ्लुको संक्रमण देखिएको छ। जसका कारण उपचार गर्दागर्दै दुई जनालाई जोगाउन नसकिएको डा. आचार्यले उल्लेख गरे। डा. आचार्यले स्वाइन फ्लु बिरुद्धको भ्याक्सिन लगाउन आग्रह गरेका छन्।

उता स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले भने विभागमा अहिलेसम्म स्वाइन फ्लुका बिरामीको रिपोर्टिङ नभएको बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा विभिन्न अस्पतालबाट स्वाइन फ्लु परीक्षणका लागि नमूना आउने क्रम बढेको प्रयोगशालाका कन्सलट्यान्ट माइक्रोबायोलोजिस्ट विष्णुप्रसाद उपाध्यायले बताए।

यसको संक्रमण तीव्र रुपमा फैलिरहेकाले सर्वसाधारणलाई सचेत गराउन जरुरी रहेको शिक्षण अस्पतालका डा. आचार्यले बताए । खोकी लागिरहने, घाँटी खसखसाउने, लामो समयसम्म कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने र पखाला लाग्ने भएमा स्वाइन फ्लु हुन सक्ने भएकाले यस्ता लक्षण देखिनेबित्तिकै जाँच गराउनुपर्ने उनको सुझाव छ।

स्वाइन फ्लु सरुवा रोग एक व्यक्तिबाट अर्कोमा छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछ्युँ गर्दा रुमालले मुख छोप्ने, साबुन–पानीले हातमुख धुने, झोलिलो खानेकुरा खाने र स्वाइन फ्लुको शंका लागेमा बेलैमा परीक्षण गरी सतर्कता अपनाउन डा. आचार्य सुझाउँछन्।

अहिले आइसियूमा भर्ना भएर उपचार गराइरहेका बिरामीहरुलाई भेट्न आउने परिवार र आफन्तजनलाई भेट्न दिन सकेसम्म निरुत्साहित गर्नुपर्ने उनको धारणा छ । ‘होसियारी नअपनाउँदा चाँडै फैलिने भएकाले आइसियूमा राखिएका बिरामीका आफन्तहरु भेट्न नगएकै वेश हुन्छ’, उनले भने।

img

Share:
Tags