काठमाडौं / सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आफू श्रमजीवी पत्रकारको हकहितका लागि प्रतिबद्ध रहेको बताएका छन्।
‘करोडौंमा संस्था सञ्चालन गर्नेहरूले श्रमजीवी पत्रकारको शोषण गरिरहेको अवस्थामा तपाईंहरूको हकहित गर्ने उद्देश्यसाथ मैले सञ्चार मन्त्रालयको नेतृत्व लिएको हुँ’, राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले भने।
उनको सम्मानमा सञ्चार केन्द्र नेपाल र प्रेस युनियनले सोमबार राजधानीमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए। सञ्चार केन्द्रको कार्यक्रममा उनले श्रमजीवी पत्रकार भन्नुभन्दा पनि श्रमजीवी सञ्चारकर्मी भन्नुपर्ने धारणा व्यक्त गरे।’ श्रमजीवी पत्रकारभन्दा पनि श्रमजीवी सञ्चारकर्मी भन्नुपर्छजस्तो लाग्छ’, उनले भने, ‘ श्रमजीवी पत्रकारले सबैलाई प्रतिनिधित्व गर्दैनजस्तो लाग्छ।’
उनले मिडिया व्यवसायीको पनि चित्त बुझाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। भने, ‘सरकारले लागू गर्ने तयारी गरेर अन्तिममा स्थगन गरेको क्लिन फिडबारे अध्ययन गरिरहेको छु। राष्ट्रिय आमसञ्चार नीतिबारे पनि मन्त्रालयले अध्ययन गरिरहेको छ।’