२३ साउन, मधेश । तराई मधेशका अधिकांश जिल्लाहरुमा आज रक्षाबन्धन पर्व धुमधामका साथ मनाइँदै छ ।
ग्रहण लाग्ने दिन अशुभ हुने भन्दै देशका अन्य भागहरुमा जनैपूर्णीमा तथा रक्षाबन्धन १३ गते नै मनाइए पनि पूर्णीमा साउन २३ गतेका दिन परेकोले यस क्षेत्रमा आज रक्षाबन्धन अर्थात राखी पर्व मनाइदै छ ।
परापुर्व कालदेखि साउन पूणिर्माको दिनमा जनै पूणिर्मा तथा रक्षाबन्धन पर्व मनाउदै आए पनि यो बर्ष पूणिर्मा साउन २३ गते रहेको र सो दिन चन्द्रग्रहण लाग्ने भएको हुँदा शुभ मुहुर्त नभएको भन्दै नेपाली पञ्चांग निर्णायक समितिले नागपञ्चमीकै दिन जनै पूणिर्मा मनाउने निर्णय गरेको थियो
तराई मधेशमा बसोबास गर्ने हिन्दू धर्मावलम्वीहरु खास गरी मैथिली, विद्यापती, अपराजिता, बैदेही र विश्वविद्यालय पञ्चांगमा स्पष्ट रुपमा रक्षाबन्धन साउन २३ गते नै मनाउने उल्लेख गरिएकोले आजको दिन यस पर्वलाई मनाइएको ज्योतिषाचार्य पण्डित गंगाधर झाले बताए ।
ज्योतिषाचार्य झाका अनुसार मिथिला व्यवहारमा सिद्धान्त अनुसार कुनैपनि कर्मकाण्ड सम्बन्धी काम परम्परा एवं शास्त्रीय निर्णयका आधारमा गरिन्छ ।
आज राति १०.४७ मिनेटपछि चन्द्रग्रहण लाग्ने र विहान सूर्योदय हुनासाथ ४ घण्टाको भद्रा हुँदा विहान १०.३८ मा रक्षाबन्धनको उत्तम एवं शुभ साइत रहेको बताउदै पण्डित झाले दिउँसो ३ बजे सम्म रक्षाबन्धन गर्न सकिने तर त्यसपछि रक्षाबन्धनको समय नभएको स्पष्ट बताए ।
तराई मधेशमा रक्षाबन्धनका दिन दिदीबहिनीले दाजुभाईलाई नाडीमा राखी बाँधेर दीर्घायू तथा प्रगतिको कामना गर्दै आशिष दिने गर्छिन भने दाजुभाईले पनि सक्दो उपहार दिने प्रचलन छ । रक्षाबन्धनका लागी बजारमा राखी तथा मिठाई किन्नेहरुको भीड लागेको छ ।