• img
  • img
img img img
Categories
कृषि राष्ट्रीय समाचार

बाढीका कारण प्रभावित क्षेत्रमा करोडौंको क्षति

img

धान, तरकारी र माछा डुबानमा

काठमाडौं । कृषि विकास मन्त्रालयका अनुसार बाढीका कारण प्रभावित क्षेत्रमा करोडौंको क्षति भएको छ । भारी वर्षाले पूर्वाञ्चलमा मात्र १४ करोड रुपैयाँबराबरका तरकारी डुबानमा परेको मन्त्रालयले जनाएको छ । पूर्वाञ्चलमै तीन करोड रुपैयाँबराबरको माछा र करिब १२ करोड रुपैयाँको सञ्चित खाद्यान्न डुबानमा परेको मन्त्रालयको आँकडा छ ।

बाढीले पूर्व क्षेत्रका झापा, मोरङ, सुनसरी, सप्तरीलगायत जिल्लामा बढी क्षति पुगेको छ ।

मध्य तराईको पर्सामा २०/२० हजार हेक्टरको धान र तरकारी, बारामा ५६ हजार हेक्टरको धान, नौ हजार पाँच सय हेक्टरको तरकारी र पाँच सय हेक्टरमा पालिएका माछा डुबानमा परेका मन्त्रालयले जनाएको छ । यस्तै, धनुषामा २१ हजार हेक्टरमा रोपिएको धान, एक हजार सात सय हेक्टरमा लगाइएको रहर, आठ सय हेक्टरको माछा, डेढ सय हेक्टरको धान डुबानमा परेको छ ।

सप्तरीमा हालै आएको बाढीका कारण रोपाइँ गरिएको धानबाली डुबानमा परेको छ ।

जिल्लाको विभिन्न खोला र नदीमा आएको बाढीका कारण अधिकांश खेतीयोग्य जमिन डुबानमा परेको छ । धानबाली डुबेर नष्ट भएको छ । खेतमा बालुवा र गिट्टी तथा पागोमाटो थुपारिएको छ ।

मोेहुली खोलामा आएको बाढीले तिरुहुत गाउँपालिकाको मैना कडेरी, भेडिया, त्रिकोल, पिपराहीलगायत गाउँमा धानखेत डुब्नुको साथै बाढीले ठाउँ ठाउँमा कटान गरेको छ । सयौँ बिगाहामा लगाइएको धानबाली नष्ट भएको स्थानीयवासी दिपु लगरवार ले बताउनुभयो ।

यस्तै कञ्चनरुप नगरपालिका र हनुमानगर कङ्कालनी नगरपालिकाको बैरवा, बदगामा, बरमझिया, पोर्ताहा, भारदह, सकरदही, हनुमानगर, इनरुवा, मधुवापुर, डलुवा, रम्पुरा मलहनीयालगायत गाउँमा बाढीले धानबालीमा क्षति पुगेको हनुमानगर कङ्कालनी नगरपालिका– १ का हरि मण्डलले बताउनुभयो ।

हनुमाननगर कङ्कालनी नगरपालिका–१,३,४, ९, १०, ११, १२ र १४ वडाको सयौँ बिगाहा जमिन डुबानमा परेको छ । धानबालीसमेत नष्ट भएको छ । जिल्लाको खाँडो र बलान खोलामा आएको बाढीले भारदह ,पोर्ताहा, सकरपुरा, तिलाठी, लोनियालगायत गाउँ डुबानमा परेका छन् ।

img

Share:
Tags