काठमाडौं । हालैका दिनमा आएको भीषण वर्षाका कारण तराई क्षेत्र जलमग्न छ । गत शुक्रबारदेखिको अविरल वर्षाका कारण तराईका अधिकांश जिल्ला डुबानमा परेका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार बाढीमा परी मृत्यु हुने संख्या ७० पुगिसकेको छ ।
अविरल वर्षाबाट भएको भौतिक क्षति पनि ठूलो छ । प्रभावित क्षेत्रमा आवास, कृषि बाली, सडक, विद्युत, टेलिफोन, उद्योगधन्दामा व्यापक क्षति पुगेको छ ।
१२ वैशाख ०७२ को महाभूकम्पको जस्तै ठूलो क्षती बाढी पहिरोबाट भएको सरकारी र निजी क्षेत्रका अधिकारीहरुको अनुमान छ । मानवीय क्षति र पुनर्निर्माणमा लाग्ने समय र बजेट बराबर नरहे पनि मुख्य उत्पादन र औद्योगिक क्षेत्रमा पुगेको नोक्सानीको आँकडा कम नरहेको उनीहरु बताउँछन् ।
‘बाढीले पुर्याएको क्षति अनुमान गर्दा भूकम्पबाट भएको भन्दा ठूलो देखिएको छ,’ उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अनलाइनखबरसँग भने ।
महाभूकम्पले औद्योगिक तथा व्यापारिक क्षेत्रमा १५ अर्ब रुपैयाँबराबरको क्षति पुगेको निजी क्षेत्रको आँकलन थियो । अहिलेको क्षति त्यसभन्दा बढी हुनसक्ने अनुमान निजी क्षेत्रको छ । ‘मुलुकको मुख्य औद्योगिक क्षेत्र विराटनगर, हेटौंडालगायतमा बाढीले क्षति पुर्याएको छ,’ गोल्छाले भने ।
लगत संकलन भइरहेकाले अहिले नै बाढीको क्षति आँकलन गर्न नसकिने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले बताए । बाढीले कृषि, विद्युत, सडक, टेलिकमलगायतमा बढी नोक्सानी पुर्याएको छ ।