सप्तरी । सप्तरीलाई कार्यक्षेत्र बनाएका एभिन्युज टेलिभिजनका संवाददाता एवं स्थानीय सप्तरी जागरण साप्ताहिकका प्रकाशक बैद्यनाथ यादवको घृणित व्यवहारका कारण पत्रकारिता क्षेत्रकै बेइज्जत भइरहेको छ । १९ वर्षदेखि पत्रकारिता गर्दै आएको दाबी गर्ने यादवको कार्यशैलीका कारण सप्तरीका आम पत्रकारलाई हेर्ने दृष्टिकोण पनि राम्रो छैन ।
आफ्नो स्वार्थपूर्तिका लागि जस्तोसुकै बद्मासी गर्न पनि तयार हुने यादवको कार्यशैलीविरुद्ध यहाँका राम्रा पत्रकारले बिस्तारै विरोध गर्न थालेका छन् । उनलाई जुनसुकै कार्यक्रमबाट पनि बहिष्कार गर्नुपर्ने आवाज पनि यहाँ उठ्न थालेको छ । कतिपय सञ्चारकर्मीले वैद्यनाथ आउने कार्यक्रममा आफूहरुलाई नबोलाउन पनि सम्बन्धित निकायमा आग्रह गर्न थालेका छन् ।
नेपाल आजमा उनको कर्तुतबारे समाचार प्रकाशित भएपछि वैद्यनाथ बहिष्कारको अभियान सुरु भएको हो । वैद्यनाथका कर्तुतबारे यसअघि धेरैलाई जानकारी भएपनि सशस्त्र भूमिगत समुह, प्रहरी प्रशासन र तस्करसँगको उनको सम्बन्धका कारण कोही बोल्न सकेका थिएनन् । हदैसम्म गिर्न र निचता प्रदर्शन गर्न पनि पछि नपर्ने हुनाले सबैजना उनको बदमासी टुलुटुलु हेरेर बस्ने गर्थे ।
यी ठग पत्रकारसँग जिल्लाका सरकारी कार्यालयका हाकिम, प्रहरी प्रशासन पनि त्राहिमाम छन् । यसको प्रमुख कारण हो, उनले लेख्ने बनावटी समाचार । आफूलाई पैसा नदिए उनी तुरुन्तै मान्छेको स्वभाव हेरेर बनावटी समाचार तयार पार्छन् । मान्छेको इज्जत र प्रतिष्ठासँग खेलवाड गर्न उनलाई केहीले पनि रोक्न सक्दैन । बरु कुटाइ नै खान किन नपरोस्, उनी मान्छेको इज्जत र प्रतिष्ठासँग सहजै खेल्न तयार हुन्छन् ।
पत्रकारिता क्षेत्रकै हुर्मत लिइरहेका यी ठग पत्रकार सरकारी कार्यालयबाट मासिक रुपमा पैसा माग्छन् । पैसा नदिए बनावटी समाचारको शिकार बनाइहाल्छन् । त्यसैले दुनियाँ झन्झटमा पर्नुभन्दा सरकारी कार्यालयका कर्मचारीहरु पनि उनलाई पैसा दिन सहजै राजी हुन्छन् ।
यी ठग पत्रकार कुरा गर्न माहिर छन् । मानिसलाई कसरी फसाउने भन्ने उनमा अद्भूत कला पनि छ । मानिससँग उनी सहजै घुलमिल हुन सक्छन् । र, कसैले पैसा नदिए आफ्नो सक्कलीरुप देखाइहाल्छन् ।
यी ठग पत्रकारको ठगीबारे हामीले केही नयाँ कुरा थाहा पाएका छौं । कुनै कुरा थाहा पाए आगामी दिनमा पुनः प्रमुखताका साथ त्यसलाई प्राथमिकता दिने नै छौं । हाम्रो उद्धेश्य पत्रकारिता क्षेत्रमा देखिएका नकारात्मक पाटोको अन्त्य गर्नु हो । पत्रकारिताको नाममा बद्मासी गर्ने र आफ्नो स्वार्थ पूरा गर्न अरुलाई दोहन गर्ने प्रवृत्तिको अन्त्य गर्नु हो ।
सप्तरीका एक जना वरिष्ठ पत्रकारका अनुसार, यी ठग पत्रकारले करिब सात वर्षअघि यहाँका एसपीसँग छड र सिमेन्ट मागेका थिए । सो क्रममा ती एसपीसँग उनको विवाद पनि भयो । त्यसपछि उनलाई एसपीले चार पाँच घन्टा थुनेका थिए ।
उनले खाँडो नदी नियन्त्रणका लागि बाँध निर्माण गर्ने ठेकेदार र सिंचाइ कार्यालयसँग पैसा नदिए समाचार लेख्ने भनेर पाँच लाख रुपैयाँ लिएका थिए ।
एक दसकअघि भूमिगत सशस्त्र समुह जयकृष्ण गोइतसँग उनको अति राम्रो सम्बन्ध थियो । उनी कतिपयलाई त जयकृष्ण गोइतका कार्यकर्ता लगाएर अपहरण गर्ने धम्की पनि दिन्थे । र, पैसा असुल्थे । अपहरण गरेर रकम असुली पनि गर्थे उनी ।
केही वर्षअघि उनले एभिन्युज टेलिभिजनमा जयकृष्ण गोइतको अन्तर्वार्ता पनि प्रसारण गरेका थिए । त्यसबेला उनले गोइतसँग मोटो रकम असुलेको चर्चा पनि यहाँ बेला बेलामा चल्ने गर्छ ।
उनी तस्करको सूचना प्रहरीलाई दिन्थे । प्रहरीसँग मिलेको जस्तो देखाएर त्रास देखाउँदै उनी तस्करसँग पैसा असुल्थे । एकपटक सुपारी तस्करसँग लेनदेनमा उनको कुरा मिल्यो । पछि उनले थप रकम माग गरे । त्यही सिलसिलामा जिल्ला प्रहरी कार्यालयमै प्रहरीले उनको छातीमा पेस्तोलसमेत सोझ्याएको थियो ।आइतबार, ११ भदौ २०७४ गते अनलाइन नेपाल आज मा प्रकाशित