• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

एनआरएनए गैरआवासीय नेपाली संघले आपतकालिन राहत सामाग्री वितरण गरेको छ

img

११ भदौ, सप्तरी । मुलुकमा झण्डै दुई साता अगाडी आएको बाढी र डुबानको प्रकोपबाट प्रभावित झण्डै ४ हजार पाँच सय परिवारलाई गैरआवासीय नेपाली संघले आपतकालिन राहत सामाग्री वितरण गरेको छ ।

 

गृहमन्त्रालयसँगको समन्वय र सुझावमा संघले सबैभन्दा बढी प्रभावित भएको जिल्ला सप्तरीका पाँचवटा स्थानमा राहत बितरण गरेको हो । संघले अगष्ट २२ देखि २५ तारिखसम्म सप्तरीको बोदेबसाईन, तिरहुत, तिलाठी, कोहिलारी बसाईन र कोमध्यपुरा गाउँका झण्डै ४ हजार पाँचसय बाढी प्रभावित परिवारलाई राहत बितरण गरेको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेको प्रत्यक्ष नेतृत्वमा चार दिन राहत वितरण गरिएको थियो । बाढीले घर बगाएका परिवारलाई ओत दिन संघले त्रिपाल र झुल तथा केही दिनका लागि पुग्ने खाद्यसामाग्री संलग्न रहेको प्याकेज बितरण गरेको छ । जसमा २५ किलो चामल, दाल, नुन, तेलजस्ता अत्याबश्यक खाद्य सामाग्री पनि समावेश थिए । प्रतिपरिवार झण्डै ६ हजार रुपैयाँ बराबरको राहत प्याकेज संघले बितरण गरेको हो ।

‘बाढी र डुवानबाट जुन मात्रामा क्षति भएको छ, त्यसको तुलनामा हामीले दिएको सहयोग पर्याप्त छैन,’ अध्यक्ष शेष घलेले राहत वितरण सकिएपछि भने, ‘बाढी प्रभावितले गासबासको अभावमा ज्यान गुमाउनु नपरोस् भनेर गैरआवासीय नेपाली संघले आपतकालिन राहत मात्रै बितरण गरेको हो, उहाँहरुलाई पुनःस्थापित गर्न नेपाल सरकारले नै काम गर्नुपर्छ ।’

 

तराईक्षेत्रमा बाढी र डुबानको समस्या आएसँगै एनआरएनएले आपतकालिन राहत कोषको स्थापना गरी राहत वितरण कार्य सुरु गरेको थियो ।

राहत वितरणमा सहभागी हुन संघका अध्यक्ष घलेसँगै उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसी, आइसीसी सल्लाहकार त्रिलोक गुरुङ, अमेरिका क्षेत्रीय संयोजक सोनाम लामा र सहसंयोजक एसी शेर्पा, मध्यपूर्व सहसंयोजक धर्मराज गिरी, आईसीसी सदस्य जमुना गुरुङ, महिला संयोजक सपिला राजभण्डारी, आइसीसी सदस्य जयप्रकाश गुरुङ, एमआइटी ग्रुपका म्यानेजर सुरेश चित्रकार, एनआरएन युकेका राजेन्द्र भट्ट तथा नेपालमा रहेका गैरआवासीय नेपाली स्वयंसेवकहरु सप्तरी पुगेका थिए ।

 

राहत वितरण कार्यको संयोजन एनआरएनए बहराइनका पूर्व अध्यक्ष श्याम तामाङ र मध्यपूर्व संयोजक धर्मराज गिरीले गरेका थिए ।

राहत वितरणसँगै संघले ती स्थानमा स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ । आइसीसी सदस्य झुमादेवी लिम्बुको संयोजनमा चिकित्सक तथा नर्सहरु सहभागी स्वास्थ्य शिविरले ती क्षेत्रका एक हजार पाँच सयभन्दा धेरै बिरामीलाई प्राथमिक उपचार गरेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद प्रवक्ता रञ्जु थापाले जानकारी दिइन् ।

त्यस्तै एनअारएन टोलीले बाढी र डुवानका कारण बिग्रिएको सडकसमेत ग्रावेल गरी हिड्नमिल्ने बनाएको थियो ।

 

आपतकालिन राहत कोषमा रकम संकलन गर्ने तथा राहत बितरण कार्यमा स्वयंसेवकका रुपमा सहभागी हुने सबै गैरआवासीय नेपालीहरुलाई संघका अध्यक्ष घलेले हार्दिक आभार प्रकट गरेका छन् । साथै उनले नेपाल सरकार, स्थानीय प्रशासन र स्थानीय स्वयंसेवीहरुलाई पनि राहत बितरणलाई सहज बनाउन सहयोग गरेकोमा धन्यबाद दिएका छन् ।

img

Share: