काठमाडौं,। असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश नम्बर दुईका स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।
प्रदेश सहसंयोजक नागेन्द्र चौधरीका अनुसार २ नम्बर प्रदेशस्थित ८ जिल्लाका १३६ मध्ये ११६ स्थानीय तहमा उम्मेदवार टुंगो लागेको हो । बाँकी २० वटा स्थानीय तहका मेयर र उपमेयरको टुंगो भदौ १५ गतेभित्र लाग्ने र १५ गते नै प्रदेशका सम्पूर्ण उम्मेदवारको नाम सार्वजनिक गरिनेछ ।
एमालेले यसअघि वीरगञ्ज महानगरपालिकाको मेयर बसुरुद्धिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई उम्मेदवार बनाएर अघि सारिसकेको छ । र, आक्रामक ढंगबाट प्रचार प्रसारमा खटाएको छ ।
हाल उपचारका लागि थाइल्याण्डमा रहेका अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किएपछि स्थायी कमिटीले लगाउने सबै उम्मेदवारको टुंगो लगाएर भदौ १५ गते नामावली सार्वजनिक गर्ने एमाले प्रदेश नम्बर दुईका सहसंयोजक नागेन्द्र चौधरीले जानकारी दिए ।
उनका अनुसार एमालेले हालसम्म, सिराहा, सप्तरी, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र बारामा उम्मेदवार छनोट गरिसकेको छ भने धनुषामा विवाद हुँदा बाँकी छ ।
प्रदेश नम्बर २ मा ६२ स्थानीय तहसम्म जित्ने निष्कर्ष
यस्तै, एमालेले प्रदेश नम्बर २ मा ६२ स्थानीय तहसम्म जित्ने निष्कर्ष निकालेको छ । भने कसैसँग तालमेल नगरी एक्लै चुनाव लड्ने मनस्थितिमा छ । ‘अपवादको रुपमा एक दुई ठाउँमा कांग्रेस बाहेकका शक्तिसँग तालमेल हुनसक्ला,’ प्रदेश सहसंयोजक चौधरी भन्छन्– ‘मूलतः एमाले एक्लै चुनाव लड्ने मनस्थितिमा छ । र २ नम्बर प्रदेशमा पनि एमाले पहिलो हुन्छ ।’