११ कात्तिक, सप्तरी । छोराबुहारीलाई विदा गरेर बसेका तिलाठी-कोइलाडी गाउँपालिका १ तिलाठीका ८५ बर्षीय पण्डित रमानाथ झा ‘हामी काठमाडौं पुग्यौं है भन्ने फोनको पर्खाइमा थिए ।
तर, उनलाई छोराको त्यो बोली कहिल्यै सुन्न नपाउने भएका छन् । झाका छोरा बुहारी, नातीहरु सवार बस त्रिशुली नदीमा खसेको छ र उनीहरुको परिवारसहित ३० जनाको मृत्यु भएको छ ।
राष्ट्रिय बाणिज्य बैंक गौशाला शाखामा प्रबन्धकको रुपमा कार्यरत झासँगै पत्नी सिमी, १० बषर्ीय छोरा अभिनव, ४ बषर्ीय छोरा प्रतिक, भाइ अन्जित, साली पूजा र सालो बिटु बसमा सवार थिए ।
उनीहरु सवार ना ६ ख १४६७ नम्बरको सन्देश बस त्रिशुलीमा खस्दा झासहित सबैको मृत्यु भएको छ ।
‘घरबाट निस्किने बेलामा बुबाआमासहित सबै अग्रजलाई खुट्टामा ढोगेर आर्शिवाद लिएका थिए’ स्थानीय पंकज झाले भने, ‘अहिले झाको घर मात्रै होइन, सिंगो तिलाठीमै रुवाबासी चलेको छ ।’
तिलाठीबासी अहिले झाको घरमा पुगेर सान्त्वना दिइरहेका छन् । तर, परिवारका पाँच सदस्य गुमाएका उनीहरुको मन के थामिन्थ्यो !
संजित राष्ट्रिय बाणिज्य बैंक गौशाला शाखामा प्रबन्धक थिए भने उनका भाइ अन्जित निजी कलेजहरुमा पढाउँथे । संजीतका सालो बिटु र साली पूजा काठमाडौंमा अध्ययन गरिरहेका थिए ।
संजितकी पत्नी सिमी र दुई छोरा उनीसँगै काठमाडौंमै बस्थे । झा परिवार दीपावलीका लागि तिलाठीस्थित घर आएका थिए । दीपावली र छठ मनाएर काठमाडौं जाँदै गर्दा दुर्घटनामा परे ।
पुगेँ भन्ने फोन आउँदै आएन
संजीत, उनका भाइ अन्जित घर आएर फर्किँदा काठमाडौं पुगेपछि फोन गर्थे । उनका ८५ बषर्ीय बृद्व बुवा पण्डित रमानाथ र आमा निर्मलादेवीसहित परिवारका सदस्य शनिबार पनि त्यस्तै फोनको पर्खाइमा थिए ।
तर, शनिबार बिहान ८ बजेसम्म कुनै फोन आएन । संजितका काका पर्ने खजिन्द्र मिश्रले भने, ‘एक्कासी राजविराजको बस त्रिशुलीमा खसेको समाचार सुनियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयमा बुझ्दा घट्ना सही हो भनियो ।’
दुर्घटनाको खबर सुनेर बृद्व पिता रमानाथको बोली बन्द भएको छ । उनी हातमा लठी टेकेर बिहानदेखि बसेको ठाउँबाट उठ्न सकेका छैनन् । आमा निर्मलाको आँखामा आँशु थामिएको छैन ।
गाउँले पनि शोकमा छन् । वडाध्यक्ष दिनेश्वर मिश्रले तिलाठी गाउँमा ठूलो बज्रपात परेको बताए । उनले भने, ‘गाउँका सबै जनाको आँखा रसाएको छ । बिहानै खबर सुनेकाले गाउँका सबै भोको बसेका छन् ।