११ कात्तिक, सप्तरी । धादिङको गजुरीमा ३१ जनाको ज्यान जाने गरी भएका बस दुर्घटनाको छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।
गृहमन्त्रालयले शनिबार तीन सदस्यीय समिति गठन गरेको हो । मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक छन् ।
समितिलाई भविष्यमा यस्ता दुर्घटना हुन नदिन राय सुझावसहित सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
मन्त्रालयले सार्वजनिक यातायात सेवालाई भरपर्दो, सुरक्षित र व्यवस्थित तुल्याउन अपनाउनु पर्ने सबै निगरानी र अनुगमन कार्यलाई कडाईका साथ कार्यान्वयन गर्न पनि स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
राष्ट्रपति विद्या भण्डारीले त्रिशुलीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् ।
भण्डारीले वक्तव्यजारी गर्दै दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति गहिरो दुःख व्यक्त गरेकी छन् । उनले घाइतेहरुको स्वाथ्य लाभको कामना गरेकी छन् ।
राष्ट्रपति भण्डारीले दुर्घटनामा वेपत्ता भएकाहरुको खोजी गर्न सम्वन्धित निकायको ध्यानाकर्षण समेत गराएकी छन् ।
संघीय समाजवादी फोरम नेपाल र एमाले सप्तरीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादवले बिज्ञप्ती जारी गर्दै घाइतेहरुको शिघ्र स्वाथ्य लाभको कामना गरेका छन् । साथै विज्ञप्तिमा दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क उपचारको ब्यबस्था मिलाउन माग गरिएको छ ।