१२ कात्तिक,झापा । सर्वपक्षिय बैठकमा आठ बुदे सहमति भएपछि कर्फ्यु खुकुलो बन्दै गएको हो । इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी राजकुमार सिलवाललाई छानविन गरी विभागिय कारवाही लागि सिफारिस गर्ने, गोली लागि ज्यान गुमाएका नरेश थापाका परिवारलार्इ १० लाख क्षतिपुर्ती उपलब्ध गराउने सहमति भएको छ ।
कर्फ्यु लागेका बेला प्रदर्शनमा उत्रिएका थापाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । यस्तै गत असोज १५ गते मृत भेटिएका ११ वर्षीय लक्ष्मण शिवाकोटीको मृत्युको घटनाको थप अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने, आगजानी तथा तोडफोडबाट क्षति भएको सार्वजनिक तथा निजि सम्पत्तिको मुल्याकंन गरी क्षतिपूर्तिको लागि सरकार समक्ष सिफारिस गर्ने, घाइतेको उपचारको व्यवस्था तत्काल सरकारले गर्ने लगायतका सहमति भएको छ ।
दशैंका दिन हराएका झापा अर्जुनधाराका ११ वर्षीय लक्ष्मण शिवाकोटी भोलिपल्ट मृत फेला परेपछि उनको हत्या भएको भन्दै बिहानैदेखि आफन्त र स्थानीयले विर्तामोडमा प्रदर्शन गरेका थिए । सोही क्रममा तनाव बढेपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु लगाएको हो ।