• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

राष्ट्रपति भण्डारी युएई भ्रमणमा जाँदै

img

२७ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो कार्यकालको लगभग अन्तिम घडीमा सोमबार विदेश भ्रमणमा जाँदैछिन् । छोरीसमेत २६ जनाको जम्बो टोली लिएर उनी आज अपरान्ह संंयुक्त अरब इमिरेट्स (युएर्इ) को भ्रमणमा जान लागेकी हुन् । राष्ट्रपतिको भ्रमणलाई क्याबिनेटले आजै औपचारिकरुपमा स्वीकृति दिँदैछ ।

राष्ट्रपति भण्डारीको विदेश भ्रमणले सरकारी ढुकुटीमा त घाटा लाग्ने छ नै, अहिलेसम्म नेपालले अपनाउँदै आएको असंलग्न परराष्ट्र नीतिमा समेत यसले धक्का दिने सम्भावना देखिएको छ । कतारले दिएको निम्तो अस्वीकार गर्दै राष्ट्रपतिले युएईको भ्रमण रोजेकी छिन् र यसबाट खाडी मुलुकको द्वन्द्वमा नेपाल अनावश्यक रुपमा विवादमा तानिने त्रास बढेको कूटनीतिक क्षेत्रमा टिप्पणी हुन थालेको छ ।

 

राष्ट्रपति भण्डारीको युइए भ्रमणबारे परराष्ट्रमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा असहमत रहेको बाहिर चर्चा चले पनि परराष्ट्र मन्त्रालयले भ्रमणमा सहमति जनाइसकेको छ ।

यसैवीच परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रपतिको भ्रमणमा दुईपक्षीय हितका विषयमा छलफल हुने र यसले दुई देशवीचको सम्बन्धलाई सुमधुर बनाउने बताएको छ ।

स्रोतका अनुसार यसअघि नै कतारले राष्ट्रपति भण्डारीलाई विदेश भ्रमणको निम्तो दिएको थियो । तर, युएई लगायत चारवटा खाडी राष्ट्रले कतारमा नाकाबन्दी लगाएका कारण यस्तो अवस्थामा नेपालका राष्ट्र प्रमुख विवादमा मुछिनु हुँदैन भन्दै भण्डारीको कतार भ्रमण रोकिएको थियो ।

कतारले भ्रमणको निम्तो दिएको थाहा पाएपछि युएईले पनि राष्ट्रपति भण्डारीलाई निम्तो दियो । गत मंगलबार मात्रै युएईका राजदूतले शीतलनिवासमा भेटेर अबुधाबीका राजकुमारको निम्तोपत्र राष्ट्रपति भण्डारीलाई बुझाए । त्यसको एक साता पनि नबित्दै राष्ट्रपति भण्डारी २६ जनाको जम्बो टोलीसहित युएई जान तयार भइन् ।

img

Share: