२७ कार्तिक, चितवन।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय बढेको सुरक्षा चुनौतीमा सरकार नै प्रमुख दोषी भएको आरोप लगाउनुभएको छ । चितवनको शिवनगरमा आज सञ्चारकर्मीसंग दाहालले माओवादी विरुद्ध नेत्र विक्रम चन्दको नेकपासंग मिलेर कांग्रेसकै निर्देशनमा माओवादी नेतामाथि आक्रमण भएको टिप्पणी गर्नुभएको हो । बाम गठबन्धनलाई अधिनायकवादको संज्ञा दिने तर आफैं त्रास फैलाउन खोजेको भन्दै उहाँले सरकारलाई आफ्नो रबैया तत्काल सुधार्न आग्रह गर्नुभएको छ । रोल्पामा माओवादी नेता वर्षमान पुनमाथि हिजो र अस्ती भएको आक्रमणमा रोल्पाका स्थानीय कांग्रेस नेताको मिलेमतो रहेको उहाँको आरोप छ । फरक प्रसङ्गमा दाहालले कात्तिक ९ गते पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको प्रष्ट पार्नुभयो । अहिले चुनाव नै पहिलो प्राथमिकतामा रहेको भन्दै उहाँले चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने जानकारी दिनुभयो ।