३ पुस,धनकुटा।प्रदेश नं। १ को राजधानी धनकुटालाई कायम गरिनु पर्ने माग राख्दै आव्हान गरिएको बन्द कार्यक्रम अपरान्हपछि फिर्ता लिईएको छ । बन्द फिर्ता लिएपछि अपरान्ह ४ बजेपछि यातायात सञ्चालनमा आएको छ ।
यसअघि बिहान सबेरैदेखि स्थानीयबासीले यातायात, बजार, पसल, शिक्षण संस्था, कलकारखाना बन्द गराएका थिए । बन्दका कारण कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा दिनभरी यातायात ठप्प हुँदा सर्वसाधारणले सास्ती खेपेका थिए । बन्दकर्ताले मोटरसाइकल समेत चल्न नदिंदा यात्रुले बढी सास्ती खेप्नु परेको थियो । बन्दका कारण धनकुटा भएर भोजपुर, संखुवासभा, तेह्रथुम जिल्लातर्फ सञ्चालन हुने सवारी साधन समेत प्रभावित बने । राजधानीको माग गर्दै आएका स्थानीयबासीले धनकुटामा चार दिनदेखि दिनहुँ प्रदर्शन गर्दै आएका छन् । पर्याप्त पुर्वाधार रहेको तथा राणाकालदेखि हालसम्म पुर्वको मुख्य प्रशासनिक थलोको रुपमा स्थापित जिल्लालाई प्रदेशको राजधानी कायम गरिनु पर्ने मुख्य माग संघर्ष समितिका संयोजक उमेश घिमिरेले बताउनुभयो । यसैबीच तेह्रथुमबाट विराटनगरतर्फ जानेक्रममा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई समेत धनकुटामा केहिबेर बन्दमा थुनिए । वैकल्पिक मार्गबाट स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी सुदिप राजभण्डारीले बताउनुभयो ।