सप्तरी। प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बिजयलाल कायस्थले जिम्मेवारी र कर्तव्यलाई पालना गरी गुणात्मक रुपमा जनतालाई सुविधा दिन प्रहरीलाई निर्देशन दिएका छन् । उनले अपराधसंग लड्न प्रहरीले मात्र नसक्ने भएका कारण सबैले सहयोग गर्नुपर्ने धारणा समेत व्यक्त गरे ।
सप्तरीको कंचनरुप नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय कंचनपुर र ट्राफिक प्रहरी पोष्ट कंचनपुरको नवनिर्मित भवनको सोमवार उद्घाटन गर्दै उनले प्रहरीको आचरण र ब्यवहारमा सुधार आउनु जरुरी रहेको बताए । जनताको गुनासो सुनेर भरपर्दो सुविधा दिनु प्रहरीको कर्तव्य भएको उनको भनाई छ ।
कायस्थले भवन राम्रो भएर मात्र नहुने भएकाले जनताको सेवा पनि राम्रोसँग गर्नुपर्नेमा जोड् दिए ।
कार्यक्रममा पूर्व क्षेत्रिय ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालले कानुन भन्दा कोहि माथि नरहेको बताउँदै अपराधीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड् दिए । सुख र दुःखमा साथ दिने प्रहरी नै रहेको बताउँदै जनताको साथ र सहयोग रहेमा अझ बढी रुपमा सेवालाई प्रभावकारी बनाउन सकिनेमा जोड् दिए ।
कंचनरुप नगरपालिकाका मेयर बसन्त मिश्रले अहिलेको युग भनेको आधुनिक युग भएको हुँदा प्रहरीलाई आधुनिक तालिम दिई जनतालाई सरल तरिकाले सेवा दिन आग्रह गर्दै निर्दोषलाई नफसाउन र दोषीलाई कार्वाही गर्न सुझाव दिए ।
जिल्ला प्रसाशन कार्यालय सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी नर बहादुर खड्काले सेवालाई गुणस्तरीय बनाउन जनताको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल प्रहरी महिला श्रीमति सघकी केन्द्रीय उपाध्यक्ष सबिता कायस्थ, पूर्व डिआईजी प्रेमलाल श्रेष्ठ, सशस्त्र प्रहरी बल बरमझियाका सशस्त्र प्रहरी उपरीक्षक टंक बहादुर खड्का, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रामाधर यादव, अनुसन्धानका एसपी देवराज लिम्बु, नेपाल पत्रकार महासघका अध्यक्ष जितेन्द्र खड्गा, सप्तरी उद्योग वाणिज्य सघका अध्यक्ष अरुण प्रधान, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली लगायतको उपस्तिथि रहेको थियो ।