काठमाडौं । काठमाडौंको हलचोकमा रहेको सशस्त्र प्रहरीको मुख्यालयमा गत सोमबार राति भएको आलजनीमा सशस्त्र प्रहरीकै अधिकारीको संलग्नता रहेको खुलेको छ ।
राति साढे १ बजे सशस्त्रको खेल मैदानसँगै रहेको स्टोर भएको भवनमा भएको आगजनीमा सशस्त्रकै प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठको संलग्नता रहेको खुलेको हो ।
महानगरीय अपराध महाशाखाको अनुसन्धानले घटनामा श्रेष्ठको संलग्नता देखिएपछि उनलाई प्रहरी वृत, स्वयम्भूको टोलीले पक्राउ गरेको प्रहरी वृत, स्वयम्भूले जनाएको छ ।
घटनामा सशस्त्र प्रहरीको केही महत्वपूर्ण सामग्री जलेर नष्ट भएको थियो ।
सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी बाबुराम पाण्डेका अनुसार आगलागीबाट २२ लाख रुपैयाँ बढीको क्षति भएको छ ।
कुनै गोप्य कागजहरु जलाउने उद्देश्यले आगलागी भएको हुन सक्ने आशंकामा अनुसन्धान थालिएको थियो । आगजनीपछि नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले घटनास्थल पुगेर मुचुल्का तयार पारेको थियो ।
घटनाको अनुसन्धानमा प्रशासन विभागका एआइजी प्रेम शाहीको संयोजकत्वमा छानबिन समिति समेत गठन भएको थियो ।