काठमाडौँ। नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सहित मधेसकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ । एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम पार्टीका शीर्ष नेताहरु सरकार गठन र पार्टी एकतामा अनौपचारिक छलफलमा जुटिरहेका बेला एमाले नेतृत्वले अन्य दललाई पनि समेट्न गृहकार्य गरेको हो ।
एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने भएकाले सहकार्यमा आउन चाहेको अवस्थामा वाम गठबन्धनका प्रमुख नेताहरुको सल्लाहमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमलाई सँगै लिएर जानु आवश्यक भएको बताउँदै यसले मुलुकको समृद्धि र सरकारको प्रभावकारितामा बल प्रदान गर्ने स्पष्ट गरे । प्रदेश नं २ मा मधेस केन्द्रित दलले जितेको अवस्थामा उहाँहरुप्रति आफूहरुले मिलेर काम गर्ने सन्देश दिनका लागि संवाद गरेको बताए । यस विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओली र फोरमका अध्यक्ष उपेन्द्र यादवबीच एक चरण भेटवार्ता भइसकेको छ ।