जनकपुर । प्रदेश २ मा सांसदहरुले आफ्नो भेषभुषा अनुसारको ड्रेस लगाउन पाउने भएका छन् । तर, प्रदेशसभामा एकरुपता देखाउनका लागि कोट वा वन्डीको रंग भने कफी कलरको हुनु पर्नेछ ।
प्रदेश २ मा सांसदहरुको ड्रेस कोड तयार भएको छ । यस अन्तरगत प्रदेशसभामा खटिने मर्यादापालकहरुले दौरासुरुवाल लगाउन नपाउने भएका नपाउने सहमति जुटेको छ ।
केन्द्रीय संसदका पुरुष मर्यादापालकले दौरासुरुवाल लगाउँछन् भने महिलाहरुले सारी चोलो लगाउँछन् । अन्य प्रदेशसभामा खटिएका मर्यादापालकहरुले पनि त्यही ड्रेसकोड पछ्याएका छन् । तर, प्रदेश २ ले भने अलग्गै पहिचान रोजेको छ ।
प्रदेश २ मा मैथिली संस्कृतिसँग मेल नखाने भन्दै दौरा सुरुवालको विकल्प रोजिएको छ । यहाँका मर्यादापालकले कोट पाइन्ट लगाउनुपर्ने सांसद शैलेन्द्र साहले जानकारी दिए ।
बैठकमा सहभागी कांग्रेस प्रदेशसभा सांसद रामसरोज यादवले भने, ‘आफ्नो अनुकुल धोती कुर्ता, पाइजामा लगाउन सकिन्छ । तर, कोटको रंग कफी कलरको हुनुपर्छ ।’
जाडोमा कोट लगाउन सकिने भए पनि गर्मीमा गाह्रो हुने भएकाले त्यसैले कोट तथा वण्डी भनिएको यादवले जानकारी दिए ।
यो ड्रेसकोड पुरुष तथा महिला सबै सांसदका लागि लागू हुनेछ । यद्यपि पहिलो बैठकमा पोशाक सिलाउन समय नपुग्ने भएकाले अनिवार्य गरिएको छैन ।
ड्रेस कोड कहिलेबाट लागू गर्ने भनेर पछि तय हुने नेताहरुले बताएका छन् ।
प्रदेश २ को प्रदेशसभाको पहिलो बैठक माघ २१ गतेलाई बोलाइएको छ । बैठकको तयारीबारे छलफल गर्न बिहीबार बसेको बैठकले प्रदेशसभाको डे्रसकोड र लोगो तय गरेको हो ।