आकाश कुमार राजभण्डारी, सप्तरी। होली नेपाली तथा मधेशीहरूको प्रमुख चाड पर्व मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ । यो चाड वसन्त ऋतुमा फाल्गुन महीनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् ।
होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्छन् । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।