काठमाडौं । राजनीतिमा लागेर कहिल्यै तल हेर्नु नपरेका भाग्यमानीहरु सिमित व्यक्ति हुन्छन् । उनीहरु मध्ये एक हुन-कृष्णबहादुर महरा, जो प्रतिनिधिसभा सभामुखमा निर्विरोध भएका छन् ।
१० वर्षको छोटो अवधिमा तीन पटक उपप्रधानमन्त्री, पाँच पटक मन्त्री भएका महरा ५ पटक सांसद भइसकेका छन् । अब ५ वर्षका लागि उनको सभामुख पद सुरक्षित भएको छ । माओवादीमा यति भाग्यमानी नेता सायदै कोही होलान् ।
माओवादीमा उनलाई गणतन्त्रका विजयकुमार गच्छदार पनि भन्ने गर्छन् । पद र पावरभन्दा बाहिर बस्नै नसक्ने प्रवृतिलाई बिजय गच्छदार प्रवृति भनेर व्यंग्य गरिन्छ । माओवादीभित्र उनका आलोचकहरु र अवसर नपाउनेहरुले महरालाई यसैगरि व्यंग्य गरिरहन्छन् ।
राजनीतिमा लागेपछि महराले पार्टीसत्ता र राज्यसत्ताको उकालो यात्राबाट कहिल्यै ओह्रालो लाग्नुपरेको छैन । यसपटक महरा सभामुख हुनुलाई भने उनका निकटस्थहरुले रहर भन्दा पनि बाध्यता हो भनेर बुझिदिन आग्रह गरेका छन् ।
पाँच वर्षका लागि सभामुख भएपछि महराको पार्टी सत्ताको उकालो यात्रामा भने ब्रेक लागेको छ ।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणबाट बन्ने शक्तिशाली कम्युनिस्ट पार्टीमा टप टेन नेताभित्र महरा पनि पर्थे । तर, अब सभामुख भएसँगै उनी एकीकृत कम्युनिस्ट पार्टीको पहिलो केन्द्रीय कमिटीको सर्वोच्च तहमा रहने अवसरबाट भने बन्चित भएका छन् ।
नेपालमा सभामुख भइसकेका व्यक्ति उपप्रधानमन्त्री र मन्त्रीमात्र पनि भएका छन् । तर, उपप्रधानमन्त्री भइसकेका व्यक्ति भने सभामुख भएका थिएनन् ।