आकाश कुमार,सप्तरी । आज संसार अनि समाजको कुरा गरौं, कुरा गरौं समाजको अनि संसारको अनि साथै यो समाजका केही अपरिहार्य शक्तिको, नारी शक्तिको । आमाको काख, दिदी-बहिनीको स्नेह, श्रीमति अनि मायालुको माया, यी सबै नारीपात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवनका अवयवहरु चलायमान हुन्छन्, आज तिनै नारीहरुको अन्तर्राष्ट्रिय दिवस्, मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस्, यस दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो । अन्तरराष्ट्रिय महिला दिवस, महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् ।
यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् २०१८ मा आइपुग्दा बिश्वभर १०८ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरि १९०९ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो ।सोशलिस्ट पार्टीले सन १९०८को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरि १९०९ को दिन महिला दिवस मनायो। यसपछि यो फेब्रुअरि को अन्तिम आइतबारको दिन मनाइन थालियो। १९१०मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दर्जा प्राप्त भयो। त्यस समय यसको प्रमुख ध्येय महिलाहरुलाई मताअधिकार दिनु थियो, त्यस समय महिलाहरुलाई मत दिने अधिकर कतिपय देशहरुमा थिएन।
१९१७ मा रसियाको महिलाहरुले, महिला दिवसमा गास र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाई वोट दिने अधिकार दियो। त्यस समय रुस मा जुलियन क्यालेन्डर को प्रचलन थियो र बाकी धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो। इ दुई दिनमा केहि फरक छ। जुलियन क्यालेन्डर अनुसार १९१७को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पर्थ्यो जब की ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो। त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो। त्यसैले ८ मार्च महिला दिवसको रूप मा मनाइन थालियो।
आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरु गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरुमा नारीहरुको सक्रिय सहभागीता अनि नेतृत्वको प्रशंसा गरिन्छ । संसारमा लैङ्गीक समानता एउटा अभियान केवल लमतन्न नारा मात्र भएको छ, निकै विकसीत भनिएका देशहरु पनि नारी उत्पीडन अनि असमानताका मुद्दाहरू लुकाएर बसिरहेका छन् । तथापि नेपालले भने यसपाला नारी समानतामा एउटा यूगान्तकारी, गौरवशाली अनि संसारलाई नै उदाहरणीय कदम चालेर देखाइदिएको छ, है ।
राष्ट्राध्यक्षका रुपमा महामहीम राष्ट्रपतिदेखि संविधान सभाको सभामुख लगायत न्यायपालिकाको प्रमुख जस्तो गरिमामय अनि महत्वपूर्ण पदहरुमा यसपाला नेपालले नारी नेतृत्वको अद्भुत चयनको उदाहरण संसारलाई दिएको छ । शक्तिराष्ट्र अनि प्रजातान्त्रिक अभ्यासको अद्वितीय देश अमेरिकाले समेत आजको दिनसम्मा महिला राष्ट्रप्रमुखको स्वागत गर्न नसकेको इतिहासमा नेपालले यसपाला नेपालीपन अनि नारी लैङ्गीक समानताबिचको एउटा गज्जब उदाहरण बनाएकै हो ।