• img
  • img
img img img
Categories
कृषि सहकारी

पशुपालनबाट मासिक एक लाख आम्दानी

img

कपिलवस्तु । वाणगंगा नगरपालिका–७ मोतिपुरका जयलाल गिरीले पशुपालनबाट मासिक रु एक लाख आम्दानी गर्दैआउनुभएको छ ।

चार वर्षदेखि व्यावसायिक रुपमा पशुपालन गर्दैआउनुभएका गिरी बाह्र वर्ष खाडी मुलुकमा काम गरेर फर्कनुभएको हो । उहाँले अहिले व्यावसायिक रुपमा बाख्रा, भैँसी र गाईपालन गर्दै आउनुभएको छ । कपिलवस्तु बाख्रापालन तथा कृषि फार्म दर्ता गरी गिरीले २०७० सालदेखि कृषि व्यवसाय अङ्गाल्नुभएको हो । उहाँले १५० वटा बाख्राबाट व्यवसाय थाल्नुभएको हो ।

हाल उहाँले २२ वटा भैँसी र गाईसमेत पाल्नुभएको छ । बाख्रापालनबाट वार्षिक रु तीन लाखदेखि रु चार लाखसम्म आम्दानीे गरिरहनुभएको छ । “दूध बेचेर मासिक रु ७० हजारदेखि रु ८० हजारसम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो ।

तीन बिघा पाँच कट्ठा जमिनमा उहाँले पशुपालन गर्नुभएको छ । अझै १० वटा उन्नत जातका गाई थप्ने योजना उहाँको छ । उन्नत जातका बाख्रा विदेशबाट ल्याउने तयारीमा गिरी हुनुहुन्छ । उहाँले व्यवसायमा अहिलेसम्म रु ५५ लाख लगानी गरिसक्नुभएको छ ।

“विदेशमा श्रम गरेर केही नहुने देखेपछि स्वदेश आएर कृषि व्यवसायमा हात हालेको हुँ,” उहाँले भन्नुभयो । गिरीले स्थानीय एक सरकारी विद्यालयको जग्गा भाडामा लिएर व्यवसाय शुरु गर्नुभएको हो ।

“राज्यले ऋणमा सहुलियत दिनुपर्छ”, उहाँले भन्नुभयो । व्यावसायिक पशुपालनसँगै उहाँले माछापालन समेत गर्दैआउनुभएको छ । उहाँलाई बिक्रीको कुनै चिन्ता छैन । उहाँले फार्ममा खरी, जमुनापारि, क्रस, वित्तल क्रस र लोकल जातका बाख्रा पाल्नुभएको छ । भैँसी स्थानीय जातका छन् । रासस

img

Share:
Tags