मदनकृष्ण सिलवाल,काठमाडौँ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले प्रेस स्वतन्त्रताको रक्षार्थ प्रेस काउन्सिल सदैव अग्रसर रहेको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालद्वारा विहीबार आयोजित “पदावधि सकिएका पदाधिकारी तथा कर्मचारीको विदाई तथा स्वागत” कार्यक्रममा उक्त कुरा बताउनुभएको हो ।
“डिआइजी प्रकरणमा केही पत्रकारमाथि प्रहरी अनुसन्धान गर्न थालिएको थाहा पाउनासाथ काउन्सिलले हस्तक्षेप गरेको छ । २६ वर्ष पुरानो ऐनबमोजिम काम गर्दा कठिनाई भएकाले नयाँ ऐन निर्माणको तयारी भइरहेको छ । विश्वका अन्य प्रेस काउन्सिलको तुलनामा प्रेस काउन्सिल नेपालले अनुगमन र नियमनको कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । ’ काउन्सिलका का.वा. अध्यक्ष श्रेष्ठले थप्नुभयो– कर्मचारीतन्त्र स्थायी सरकार भएकाले कर्मचारीका विषयमा काउन्सिल बोर्ड उदारतापूर्वक निर्णय गरेको छ, कर्मचारीले पनि लगनशील र जिम्मवारीपूर्वक काम गर्नुहोला ।
कार्यक्रममा काउन्सिलका सदस्यसचिवको रुपमा आउनुभएका बालकृष्ण घिमिरेको स्वागत र सरुवा भई जानुभएका पूर्व सदस्यसचिव वीरबहादुर राईको विदाई गर्नुहुँदै मायाको चिनो प्रदान गर्नुभयो । काउन्सिलका पूर्व अध्यक्ष बोर्णबहादुर कार्की, अवकाश प्राप्त लेखा अधिकृत बुलु घिमिरे, कानुन अधिकृत सोमनाथ सुवेदी, वरिष्ठ सहायक गोकुल बस्नेत, कम्प्युटर अपरेटर अर्जुनकुमार राउत र कार्यालय सहायक श्यामबाबु महर्जन समेतलाई खादा माला तथा मायाको चिनो प्रदान गर्नुभयो । सो अवसरमा ४० वर्ष काउन्सिल सेवामा रहेर अविनार्य अवकाश प्रांप्त गोकुल बस्नेतले सुरुमा आफू आउँदा ५ जनाको टिमले काउन्सिल चलाएको स्मरण गर्दै अहिले स्रोतसाधन, जनशक्तिको हिसाबले लामो फड्को मारेको बताउनुभयो ।