• img
  • img
img img img
Categories
कृषि

सखापै बनाए केराघारी, साढे १५ लाखको नोक्सानी

img

चितवन । चितवनका किसानले लगाएको ३५ सय बढि केराको बोट अज्ञात समूहले फडानी गरेको छ । कालिका नगरपालिका ६ भटेनी नयाँ टोलमा स्थानिय १५ जना बढि किसानले लगाएको केरा खेती अज्ञात समूहले गएराती नष्ट गरिदिएको हो ।

सोमबार उज्यालो हुँदा केराका बोटहरु काटिएका अवस्थामा भेटिएको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए । ‘केरा काटेर नोक्सान गर्नेहरु पत्ता लगाएर कारवाही गर्न प्रहरीमा उजुरी दिइएको छ,’ उनले भने ।

अध्यक्ष पन्तले १२ जना किसानको केरा नष्ट भएको बताए । एउटा बोटमा फलेको केरा बिक्री हुँदा किसानले अहिले पाँच सय रुपैयाँ आम्दानी गर्छन् । किसानहरुको साढे १५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको अध्यक्ष पन्तले बताए । सबैभन्दा धेरै कालिका–६ की कोपिला दाहालले लगाएको केराका बोटहरु काटिएको छ ।

आफूले १० कट्ठा खेतमा १४ सय बोट केरा लगाएको दाहालले बताइन् । जसमध्ये १३ सय बोट काटेर नष्ट गरिएको छ । ‘मेरो त बेच्ने अवस्थामा पुगेका केराहरु पनि काटिएको छ । बोट मात्रै हो र फल नै काटेर बेच्नै नमिल्ने बनाइएको छ,’ उनले भनिन् ।

पूर्वी चितवन केराका लागि विशेष क्षेत्र हो । चितवनमा पछिल्लो समय केराखेती फष्टाउँदै गएको छ ।

‘किसानलाई दुख दिने सताउने उद्देश्यले भएको यो काममा संलग्न जो कोहीलाई पनि चाडै समाएर कारवाही हुनुपर्छ र नोक्सानको क्ष्तिपूर्ति किसानले पाउनु पर्छ,’ केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले भने, ‘प्रशासनले चाडोभन्दा चाडो यो काम गर्नु पर्छ ।’

केरासँगै पाँच कट्ठामा लगाएको मकै पनि नोक्सान गरेको स्थानीयले बताएका छन् ।newsagro.com

img

Share:
Tags