काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजा गरेका छन् ।
नेपालको २ दिने राजकीय भ्रमणका क्रममा मुक्तिनाथ आइपुगेका मोदीले शनिबार बिहान विशेष पूजा गरेका हुन् ।
मोदीलाई मन्दिरका मूल पुजारी कृष्णप्रसाद सुवेदीले झण्डै २५ मिनेट पूजा–अर्चना गराएका थिए भने मन्दिरका अन्य पुजारी तथा भिक्षुहरूले स्वागत गरेका थिए ।
पूजा अर्चनापछि १०८ धारामा जल शेचन गरेका मोदीलार्इ बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष र जिल्ला समन्वय समितिका सभापतिले कालीगण्डकी नदीको शालिग्राम उपहार दिएका थिए ।
शनिबार बिहान ६ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमार्फत मुक्तिनाथ पुगेका मोदी केहीबेरमा जोमसोम जाने र त्यहाँबाट हेलिकोप्टर परिवर्तन गरेर काठमाडौं फर्किने कार्यक्रम छ ।
काठमाडौं आएपछि मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा तथा काठमाडौं महानगरपालिकाको नागरिक अभिनन्दन ग्रहण गर्नेछन् ।
मोदी आजै अपरान्ह चार बजे स्वदेश फर्किने कार्यक्रम छ ।