भारदह,सप्तरी । तराई मधेशको मिथिलाञ्चल महिलाहरु पतिको दीर्घायु र कुशल दाम्पतीय जीवनको कामना गर्दै वट सावित्री (वरसाईत)पर्व रंगीचंरगी भव्यताका साथ मनाईरहेका छन् । मङ्गलवार बिहानैदेखि महिलाहरु निराधार उपवास बसेर वरवृक्षको पूजापाठ गरी वरसार्इत पर्व मनाईरहेका छन् ।
हिन्दू धर्मावलम्बीले वरवृक्षमा भगवान ब्रह्मा, विष्णु र महेशको बास हुने गरेकाले सो वृक्ष मुनि बसेर पतिको दीर्घायु र कुशल दाम्पतीयका लागि कामना गरेपछि सवैखाले मनोकामना पूर्ण हुने जनविश्वास छ ।
सत्ययुगमा सति सावित्रीले आफ्ना पति सत्यभानको जीवन यमराजबाट फिर्ता गराउन सफल भएपछि सोको सम्झना स्वरुप यो पर्व मनाउन थालिएको बताइन्छ । यो पर्व नियमनिष्ठाका साथ मनाइएमा पति दीर्घायु हुने यमराजले वरदान दिएको भविष्य पुराणमा उल्लेख छ ।
यो पर्व मनाउने महिलाहरु नववस्त्र धारण गर्नाका साथै वरवृक्षमा डोम जातिवाट बनेका बाँसको पंखा, लिच्ची, आँप, चना, केराउका साथै केही घरेलु मिष्टान्नलाई प्रसादका रूपमा चढाएर धार्मिक एंव संस्कृति अनुसार पूजापाठ गर्छन् ।
यस पर्वको अवसरमा भारदहका कंकालिनी भगवति मन्दिर, महादेव थान, छिन्मस्ता भगवती,राजदेवी र राम मन्दिर लगायत विभिन्न मन्दिरको परिसरमा रहेको वटवृक्ष मुनि बसेर विहानैदेखि पूजापाठ गर्नमा महिलाहरु व्यस्त छन् ।