• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नेपालको प्रगति नै भारतको लागि पनि खुसीको विषय हो : राजदूत पुरी

img

सप्तरी । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले भारतीय सहयोगमा सप्तरीमा सञ्चालित अधुरा योजना यथाशीघ्र पूरा गरी हस्तान्तरण गर्न आग्रह गरेका छन्।

हनुमाननगर जेलकाण्डको ७५औं स्मृति दिवसका अवसरमा जेपी लोहिया रामेश्वर मेमोरियल ट्रस्टले शनिबार राजविराजमा आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत पुरीले भने, ‘भारतीय दूतावास मार्फत सञ्चालनमा रहेका कतिपय विकासका योजना पूरा भएका छन् र कतिपय पूरा हुने क्रममा छन्। अधुरा रहेका योजना पूरा गरेर हस्तान्तरण गर्न आग्रह गर्छु।’

भारतीय दूतावासको लगानीमा तीन वर्षभित्र सम्पन्न गर्नेगरी ९ वर्षअघि शिलान्यास गरिएको सप्तरीको राजविराज नगरपालिका–१६, बोरियास्थित नरेन्द्र मेमोरियल माध्यमिक विद्यालयको भवन ९ कोठे भवन, सन् २००६ भित्रै सम्पन्न गर्नुपर्ने राजविराजस्थित मुलुककै पुरानो महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको कन्या छात्रावास, सन २०१० भित्र सम्पन्न गर्नुपर्ने सगरमाथा अञ्चल अस्पताल राजविराजको प्रसूति तथा आकस्मिक कक्ष भवन, २०६४ असारमै पूरा गरिसक्नुपर्ने जनता रामेश्वर मेमोरियल माध्यमिक विद्यालयको भवन तथा २०६४ असारभित्र सम्पन्न गर्नुपर्ने कुनौली–फत्तेपुर सडक लगायतका योजना अझै अधुरा छन्।

कार्यक्रममा बोल्दै राजदूत पुरीले भारतले आफ्नो ७०औं स्वतन्त्रता दिवस मनाइरहेका बेला यो अवसर ल्याउनमा नेपालको भूमिका अतुलनीय र अविस्मरणीय रहेको बताए।

प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सम्पन्न नेपाल भ्रमणले दुवै मुलुकबीच विकासको मार्ग अझै फराकिलो बनेको बताउँदै उनले भौगोलिक, सांस्कृतिकसँगै आर्थिक उन्नतिमा एक–आपसको भागीदारीले सम्बन्धलाई अझै बलियो बनाउने तर्क गरे। उनले भने, ‘नेपालको प्रगति नै भारतको लागि पनि खुसीको विषय हो।’

कार्यक्रममा भारतीय स्वतन्त्रता संग्रामका क्रममा राणा सरकारले सप्तरीको हनुमाननगरमा बन्दी बनाई राखिएका भारतीय समाजवादी नेता जयप्रकाश नारायण र डा राममनोहर लोहियालाई जेलमुक्त गराउन भूमिका खेलेका स्वर्गीय कृष्णवीर कामीका नाति अर्जुन विश्वकर्मा र मो. अब्दुल मियाँका नाति इव्राहिम मियाँलाई राजदूत पुरीले सम्मान गरे।

img

Share: