जनकपुरधाम । प्रदेश २ को सरकारले गणतन्त्र दिवस मनाएको छ ।
गणतन्त्र प्राप्त भएको दिनको सम्झना गर्दै प्रदेश सरकारले मंगलबार दिवस मनाएको हो ।
दिवसको अवसरमा बिहान प्रभातफेरी आयोजना गरियो । जानकी मन्दिरबाट शुरु प्रभातफेरी रामानन्द चोक, पिराडी चोक हुँदै जनकपुर चुरोट कारखानास्थित कवर्डहल पुगेर सभामा परिणत भएको थियो ।
गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक एवं मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु, उच्च अदालत जनकपुरका न्यायाधीश, प्रदेश सरकारका सचिवहरु, सुरक्षा निकायका प्रमुख तथा कर्मचारीहरु सहभागी थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले शहीदहरुको बलिदानीमा प्राप्त गणतन्त्रलाई अझै सुदृढ गर्दै लैजाने जिम्मेवारी सबैको रहेको बताए ।