सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइकर कृष्णासावरण गाउँपालिकास्थित महुली पुलको सडक भत्किएको छ ।
महुली खोलामा आएको बाढीका कारण पुलको पश्चिमपट्टीको सडक पूर्ण रुपमा भत्केको छ ।

गत बुधबार नै सडकमा चिरा परेको थियो । चिरा परेको स्थानमा मर्मत गर्न ध्यान नदिँदा सडक ५० मिटर पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले पुलको पश्चिमपट्टीको ५० मिटर सडक भत्किसकेको बताए ।
पश्चिमपट्टीको पुलमा समेत चिरा परेको छ । ठूलो बर्षा भए थप सडक भत्किन सक्ने प्रहरी प्रमुख सिंहले बताए ।
सप्तरीमा दुई दिन यता बर्षा नभएपनि पहाडी जिल्लामा नियमित बर्षा भइरहेका कारण महुली खोलामा बाढी आएको छ । बाढीका कारण सडक भत्किएको हो । महुली खोलाको पुल जिर्ण हुँदा पनि सम्बन्धित निकायले ध्यान नदिँदा यस्तो स्थिति आएको स्थानीयहरुले बताएका छन्
अहिले एकतर्फी रुपमा सबारी संचालन भइरहेको छ । थप सडक भत्किए र पुल क्षतिग्रस्त भए पूर्व पश्चिम राजमार्ग नै अवरुद्ध हुन सक्नेछन् ।