काठमाडौं। प्रधानमन्त्री केपी ओलीले कामलाई युद्धस्तरमा अघि बढाउन सबै मन्त्रालयलाई कडा निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीले शनिबार १३ वटा विषयगत मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेसपछि मन्त्रीहरुलाई कामलाई युद्धस्तरमा अघि बढाउन सचेत गराएका हुन्।
सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले समयसीमा तोकेर देश र जनताको हितमा कामलाई युद्धस्तरमा अघि बढाउन ढिलाइ गर्न नहुने बताएका थिए। यसअघि प्रधानमन्त्री ओलीले १२ वटा विषयगत मन्त्रालयको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे मन्त्रीहरुसँग सामूहिक छलफल गरेका थिए। शनिबार १३ वटा मन्त्रालयसँग छलफल भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी ढंगले सञ्चालन गर्न मन्त्रीहरुलाई कार्यान्वयन कार्ययोजना तय गर्न निर्देशन दिएका थिए। सोही निर्देशन अनुसार मन्त्रीहरुले पेस गरेको कार्ययोजनामाथि शनिबार पनि छलफल भएको हो।